शिवराज नगरपालिका–३ मदवा निवासी ५५ वर्षीया डम्बर कुमारी बलामीको भुगर्भ सिमेन्ट प्रालिको अगाडि सवारी दुर्घटनामा परि मृत्यु भएको थियो। दुर्घटनापछि मृतकको शव पोस्टमार्टमका लागि परिवार र प्रहरीले शिवराज नगरपालिका–५, चन्द्रौटास्थित आधारभूत अस्पतालमा लगेको थियो।

बलामीको कानमा एक तोलाका दुईवटा सुनका रिङ थिए। शव पोस्टमार्टमका लागि लैजाँदा रिङ झिक्न नसकिएकोले सुनसहित शव पोस्टमार्टम कक्षमा लगिएको थियो। तर पोस्टमार्टमपछि शव प्लास्टिकमा प्याक गरी बुटवलको अन्त्येष्टि स्थल लैजाँदा कानको सुन हराइसकेको थियो।

सुन हराएको खबर फैलिएपछि अस्पताल परिसरमै हंगामा मच्चियो।

परिवारले १३ दिने कर्म सकेपछि प्रहरीमा औपचारिक उजुरी दर्ता गराए। तर, अस्पताल प्रशासनले सुन नभएको दाबी गरिरहेको थियो। शव परीक्षण गरेका डा. अमित पाण्डे र सहायक कर्मचारी सिराज अहमद दर्जीमाथि प्रहरीले अनुसन्धान थालेको थियो।

डा. पाण्डेले उनी भित्र छिर्नुअघि एक घण्टाअगाडि दर्जी भित्रिसकेका थिए ।  आफू भित्रिँदा शवमा केही पनि थिएन भन्ने प्रमाणस्वरूप तस्वीरसमेत रहेको उनले बताएका छन्। कार्यालय प्रमुख समेत रहेका पाण्डेले पटक–पटक दर्जीलाई वास्तविकता खुलाउन आग्रह गरे पनि उनले आफू निर्दोष भएको दाबी गर्दै आएका थिए।

प्रहरी अनुसन्धानका नाममा पीडित परिवारलाई झन्डै एक महिना झुलाइयो। अन्ततः साउन ३ गते दर्जीले रु १ लाख दिने प्रस्ताव राखे। तर, परिवारले रु. २ लाख नगरी सहमति नहुने अडान लिएपछि साउन ५ गते दर्जीले फोनमार्फत २ लाख रुपैयाँको चेक दिने सहमति जनाए। पछि बैंक कारोबार देखिने भन्दै उक्त चेक फिर्ता गरी नगदमा रु. २ लाख बुझाइएको पारिवारिक स्रोतले जनाएको छ।

पीडित पक्षका अनुसार यदि कर्मचारी निर्दोष थिए भने किन नगद रकम दिनुपर्ने भन्ने प्रश्न उठेको छ। परिवारकी सदस्य हिमा थापाले दोषीलाई पैसा दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाइन्। उनले प्रहरी चौकीमै मिलापत्रको प्रक्रिया हुनु पर्नेमा बाहिरै पैसा लेनदेन गरी आरोपित कर्मचारीलाई उन्मुक्ति दिन खोजिएको हो।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले असार ४ गतेदेखि घटनामा संलग्न कर्मचारीहरूलाई हाजिर नलगाउन निर्देशन दिएको बताउनु भयो । दोषी जोगिने छैनन् भन्दै उनले निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाले भने घटनालाई सामान्य चोरीको रूपमा लिएको छ। महिनौं बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै स्थानीयवासीहरूले प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन्। प्रहरी निरीक्षक सुजन शाहले उजुरीका आधारमा अनुसन्धान भइरहेको बताए। उनले सेराज अहमद दर्जीसँग पटक-पटक सोधपुछ गरिए पनि उनले सुन चोरेको स्वीकार नगरेको स्पष्ट पारे।

पीडित हिमा थापा र दर्जी दुवैले चेकमार्फत पैसा दिने सहमति भएको र पछि उक्त चेक फिर्ता गरी वडा प्रहरी कार्यालय अगाडि रहेको एक नास्ता पसलमा  उपस्थित भइ  नगद रू २ लाख बुझाइएको पुष्टि गरेका छन्। दर्जीले भने इज्जत र जागिर जोगाउन रकम दिएको स्वीकारेका छन्। उनले आफूले सुन नचोरे पनि पोस्टमार्टम कार्यालयको जिम्मेवारी आफूमा भएको भन्दै तनावका कारण मिडियामा औपचारिक प्रतिक्रिया दिन नसकेको बताए।