शिवराज नगरपालिका–८ कपिलवस्तुमा सिचाइ सुविधा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ३६ लाख रुपैयाँ बराबरको बाध निर्माण कार्य विगत पाँच वर्षदेखि अधुरै छोडिएको छ। सुरुवातदेखि नै आवश्यक ध्यान नपुग्दा हालसम्म पनि स्थानीय कृषकहरू वर्षा पानीमै निर्भर रहन बाध्य छन्।

प्रदेशसभा सदस्य अर्जुन कुमार केसीको पहलमा सुरु गरिएको उक्त सिचाइ योजना सुरुवाती चरणमा केही संरचना निर्माण गरी रोकिएको हो। त्यसयता बजेटको अभाव देखाउँदै निर्माणकार्य अलपत्र परेको छ। पटक-पटक सरोकारवाला निकायलाई जानकारी गराए पनि सुनुवाइ नहुँदा किसानहरूमा चरम निराशा छाएको छ।

हाल ३६ लाखको संरचना झाडी र घाँसले ढाकिएको छ। बर्षायाममा खेतमा पानी आवश्यक पर्दा पनि हामी आकाश हेरेर बस्न बाध्य छौं । स्थानीय राम सेवक यादव भन्छन् रकम खर्च भएर संरचना बने पनि यसको संरक्षण गर्ने कसैको ध्यान छैन।

निर्माण क्रममा बनाइएका कंक्रिट संरचना, ग्याबियन पर्खाल र ढलान जस्ता संरचना जिर्ण अवस्थामा पुगेका छन्। स्थायी सिचाइको आशामा रहेका किसानहरू अहिले सरकारको लापरबाहीले पिँडित छन्।

कृषक अवार खानका अनुसार सरकारले देखेर पनि नदेखेझैँ गर्छ। काम नपुरा हुँदा किसानलाई मात्र होइन, राज्यलाई पनि घाटा भइरहेको छ। अनुगमन गर्ने जिम्मेवार निकाय मौन बसेका छन्। यस्तो अधुरो योजना देखाएर भोट माग्न आउनेहरूलाई अब जनताले जवाफ दिनेछन्।

यस क्षेत्रको मुख्य खेती धान, गहुँ र तरकारी हो तर सिचाइ अभावले उत्पादन घट्दो क्रममा छ। कतिपय किसानले जग्गा नै बाँझो राख्न थालेका छन्।

प्रदेश सरकारले निजी क्षेत्रको प्लटिङमा करोडौं विनियोजन गरे पनि यस्तो आवश्यक सिचाइ योजनामा बजेट नछुट्याउनु स्थानीयका लागि अन्यायजस्तो महसुस भइरहेको छ। हाल किसानहरू साना नहर वा व्यक्तिगत ट्युबवेलमा निर्भर छन्। जुन सबैले प्रयोग गर्न सक्ने अवस्था छैन।

वडा नं. ८ का वडाध्यक्ष रिजवान अहमद खानका अनुसार हामीले बारम्बार प्रदेश सरकारलाई अनुरोध गरेका छौं । बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको छैन। फेरि पनि पहल गर्ने तयारी छ। स्थानीयवासीहरूले अधुरो विकास योजनाको बोझ थप्ने काम नगरियोस् भन्दै प्रदेश सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।