मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ का युवा खेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा भव्य स्वागत तथा सम्मान गरिएको छ।

समाजसेवी तथा प्रदेशसभा सदस्य पदका प्रत्याशी राहुल पाण्डेयको टोलीले एक कार्यक्रमको आयोजना गरी कृष्णनगर–१ बढ्यामा आज श्रीवास्तवलाई सम्मानित गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका श्रीवास्तवले आफ्नो वडाको नाम विश्वसमक्ष चिनाउन सफल भएको भन्दै स्वागत गरिएको हो।

रौनक श्रीवास्तव एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य थिए। प्रतियोगितामा उनले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाएका थिए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो।

कार्यक्रममा सम्मान गर्दै राहुल पाण्डेयले रौनकलाई गौरवका पात्र भन्दै प्रशंसा गरेका थिए। उनले भने रौनक भाइले आफ्नो गाउँ, नगर, जिल्ला र देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन्। उहाँको आगामी यात्राका लागि हामी सबैले शुभकामना व्यक्त गर्छौं।