महराजगञ्ज – असार २१ गते ।

महराजगञ्ज नगरपालिका–५ अन्तर्गत सिसवा र ठूलो उदयपुरलाई जोड्ने कञ्चनिया खोलामा निर्माण गरिएको झोलुंगे पुलको पहुँच मार्ग अझै अधुरो रहेको छ । पुलको सिसवा (वारी) तर्फको बाटोमा माटो मात्र थुपारिएको छ भने ग्राभेल तथा अन्य संरचनात्मक काम नहुँदा झण्डै ५ लाख रुपैयाँ बराबरको पूर्वाधार पहिलो वर्षासँगै बग्न सक्ने अवस्थामा रहेको स्थानीयहरूले गुनासो गरेका छन् ।

स्थानीय नगेन्द्रनाथ मिश्राकाले विगत दुई वर्षदेखि सम्बन्धित निकायलाई बाटो कटानको अवस्थाबारे निरन्तर जानकारी दिँदै आए पनि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खाँले बेवास्ता गर्दै आएको बताउनु भयो ।

पहिला साइकिल चलाएर जान सकिन्थ्यो अहिले त पैदल हिँड्नसमेत अप्ठ्यारो भएको मिश्राले बताउनुभयो ।

उहाँका अनुसार योजना परिवर्तनले यस्तो समस्या आएको बताउनुभयो । पटक पटक स्टेमेट चेन्जहुनु पालिकाको गलत नियत रहेको समेत बताउनु भयो ।

पुलको पारी (उदयपुर) तर्फ सामान्य काम भए पनि वारी (सिसवा) तर्फ हालसम्म ग्राभेल तथा माटोको पटान हुन सकेको छैन् । पालिकाले थप केही टिपर माटो र ग्राभेल हाल्नासाथ मार्ग उपयोगी बन्न सक्ने तर अहिलेसम्म बेवास्ता गरिएको मिश्राले बताउनुभयो ।

हाल देखिएको अवस्थाले पहिलो भारी वर्षा परेपछि निर्माण गरिएको भाग पूरै बगाउने सम्भावना उच्च रहेको छ ।
यस्तो अवस्थामा विकास योजनामा खर्चिएको बजेट पानीमा जाने जनताले झनै सास्ती भोग्नुपर्ने र विकास कागजमा सीमित हुने अवस्था सिर्जना भएको छ ।

मिश्राले योजना बनाउने प्राविधिक तथा योजना परिवर्तन गराउने जनप्रतिनिधिहरूलाई समयमै आवश्यक पहल गर्न आग्रह गरेको बताउनु भयो ।