विजयनगर, कपिलवस्तु।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा अपाङ्गता समन्वय समितिका स्थानीय प्रतिनिधिहरूलाई लक्षित क्षमता विकास तालिम सम्पन्न भएको छ।

सामाजिक सेवा तथा समावेशीकरण कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा अपाङ्गता क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा तथा सुविधामा पहुँच सुनिश्चित गर्न आवश्यक ज्ञान र दक्षता प्रदान गर्नु रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भुमिका खन्गाहाले जानकारी दिइन् ।

तालिममा अपाङ्गता समन्वय समिति, गाउँपालिकाका जनप्रतिनिधि, सामाजिक विकास शाखा तथा प्रशासन शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रशासन शाखा प्रमुख हिमलाल पौडेलले समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिए। अपाङ्गता भएकालाई करुणा होइन, अधिकारको दृष्टिले हेर्न आवश्यक छ, उनले बताए। साथै, उनले अपाङ्गता भएका नागरिकहरूको हक–अधिकार सुनिश्चित गर्न सबै तहका निकायहरू गम्भीर र उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहजीकरण ढाकाराम अधिकारी र दिपक खण्काले गरेका थिए।