चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधमा जनताबाट हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको छ।

शिवराज नगरपालिका-५ स्थित चन्द्रौटा दुर्गा मन्दिर अगाडि आयोजित कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहँदै उत्साहजनक सहभागिता देखिएको रास्वपा शिवराज नगर अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले लामिछानेमाथि नियोजित षड्यन्त्रका आधारमा लगाइएका आरोपहरू निराधार भएको जिकिर गर्दै जनमतको अपमान स्वीकार्य नहुने बताउनुभयो। उहाँले जनताको म्यान्डेटलाई अवमूल्यन गर्ने प्रयासको कडा भर्त्सना गर्दै भन्नुभयो रवि लामिछानेमाथि भएको यो चलखेल स्वच्छ राजनीतिक प्रतिस्पर्धामाथिको घात हो। आगामी दिनमा जनताले झनै ठूलो साथ र समर्थन देखाउने छन्।

कार्यक्रममा सहभागीहरूले लामिछानेलाई न्याय दिलाउन जनताको विश्वासलाई कायम राख्न तथा उहाँका विगतका कार्यहरूको निष्पक्ष मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, उनीहरूले लोकतान्त्रिक मूल्य र जनआवाजको संरक्षण गर्दै संगठित ढंगमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अभियानका आयोजकहरूले हस्ताक्षरमा सहभागी सबै जनतालाई लोकतन्त्रको रक्षा र जनादेशको सम्मान गर्न अपिल गरेका छन्। रास्वपा शिवराज नगर कमिटीद्वारा प्रारम्भ गरिएको यो अभियान हप्ताभरि प्रत्येक वडामा क्रमशः सञ्चालन गरिने छ। यसै सन्दर्भमा बिहीबार बिहान ११ बजे अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने जानकारी नगर अध्यक्ष पाण्डेले दिनुभएको छ।