चन्द्रौौटा,कपिलवस्तु कबिराज अधिकारी ।
शिवराज नगरपालिका–४ डकहियाकी कमला केवटले एकैपटक तीन सन्तान  दुई छोरा र एक छोरी  जन्माएपछि थप उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत बुटवल पठाइएको छ।

Oplus_0

शिवराज ३ खरेन्द्रपुरस्थित चनइ स्वास्थ्य चौकीमा मंगलबार सुरक्षित रूपमा डेलिभरी गरेकी कमलाका नवजातमध्ये दुई शिशुको तौल १.५ के.जी. र एकको १.७ के.जी. रहेको स्वास्थ्य चौकी प्रमुख जितबहादुर बिसीले जानकारी दिनुभयो।

तौल कम भएकाले शिशुहरूको विशेष स्याहार र उपचार आवश्यक रहेको भन्दै बुटवल रेफर गरिएको हो। आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको उक्त परिवारलाई विभिन्न व्यक्तिबाट मानवीय सहयोग प्राप्त भएको छ।

नगरप्रमुख अजय थापाले रु. १०,०००, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले रु. ५,००० र वडा नं. ४ का अध्यक्ष नसिम अहमद खाँले रु. ३,००० नगद सहयोग गरेका छन्।

कमला र श्रीमान् सोमै केवटको यसअघि पनि तीन सन्तान छन् एक ७ वर्षीय छोरा र दुई ३ वर्षीया जुम्ल्याहा छोरी। हाल फेरि तिम्ल्याहा सन्तान जन्मिएपछि परिवारमा खुसी थपिएको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूको उपचार र पोषणमा समस्या आइपरेको छ। सोमै केवट दिहाडी मजदुरी गरेर परिवार पाल्दै आएका छन्।

बच्चाहरूको दूध, कपडा, औषधि र आवश्यक पोषणको जोहो गर्न नसकेको परिवार अहिले स्थानीय सरकार, संघसंस्था, समाजसेवी तथा दाताहरूको सहयोगको पर्खाइमा छ। इच्छुक व्यक्तिहरूले चनइ स्वास्थ्य चौकी वा शिवराज नगरपालिका–३ वडा कार्यालयमार्फत सहयोग गर्न सकिने व्यवस्था गरेको वडा अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।