२०७६–७७ देखि २०८०–८१ सम्मको पाँच वर्षे तथ्यांक अनुसार, नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी सन्तान जन्माउने गरेका छन्। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका अनुसार, यी महिनामा २२०० देखि २३०० सम्म सन्तान जन्मिएका छन् भने फागुन, चैत र वैशाख महिनामा यो संख्या घटेर १५००–१६०० को हाराहारीमा देखिएको छ।

आर्थिक वर्ष २०७६–७७ को साउन महिनामा २२७३ जनाको प्रसूति भएको थियो भने २०८०–८१ मा साउन महिनामा २१४१ जनाको प्रसूति भएको देखिन्छ। त्यस्तै, चैत महिनामा २०७६–७७ मा १६५९ जना र २०८०–८१ मा १५१७ जनाको मात्र प्रसूति भएको तथ्यांक छ। अरू वर्षहरूमा पनि यस्तै अनुपात देखिन्छ।

तर, साउन, भदौ, असोज महिनामा बढी बच्चा जन्मिनु केवल संयोग मात्र होइन, यसमा मनोवैज्ञानिक, सामाजिक र मौसमी कारणहरू पनि जोडिएका छन्।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार महिलाको महिनावारीको १४ औं दिनमा डिम्ब निस्कन्छ, जुन ४८ घण्टासम्म जीवित रहन्छ। पुरुषको शुक्रकीट झण्डै ७२ घण्टासम्म जीवित रहने भएकाले, यो समयमा यौनसम्पर्क हुँदा गर्भ रहन सक्छ र करिब ९ महिनापछि बच्चा जन्मिन्छ।

त्यसअनुसार, साउन, भदौ र असोज महिनामा जन्मिएका बच्चाहरूको गर्भाधान कात्तिक, मंसिर र पुस महिनामा भएको देखिन्छ।

मंसिर महिनामा धेरै विवाह हुने गर्छ। डा. सुवेदीका अनुसार कात्तिकमा महिनावारी भएका महिलाको मंसिरको प्रारम्भमा विवाह हुँदा यौनसम्पर्कपछि गर्भ बस्ने सम्भावना उच्च हुन्छ।

दशैं–तिहार (असोज–कात्तिक) का समयमा वैदेशिक रोजगारमा गएका युवाहरू घर फर्कन्छन्। यस्ता अवसरमा दम्पतीबीच यौन सम्पर्क हुने सम्भावना बढी हुन्छ। थोरै समयको छुट्टीका कारण गर्भ बसाउने चाहना समेत देखिन्छ।

धेरै दम्पती साउन, भदौ, असोज महिनामा जन्मिएका बालबालिकालाई भाग्यमानी, बुद्धिमान् वा तेजिलो हुने मान्यता राख्छन्। यसले पनि ती महिनामा लक्षित गरी गर्भाधान गर्न प्रेरित गर्ने गर्दछ।

पुस र माघ महिनामा जाडो बढ्दा मानिस धेरै समय घरमै बिताउँछन्। लामो रात र चिसो मौसमले दम्पतीबीच सहवासको सम्भावना बढी हुन्छ। शरीरलाई तातो बनाउन एकअर्कासँग टाँसिएर सुत्दा यौन चाहना स्वाभाविक रूपमा बढ्ने गर्छ।

बालरोग विशेषज्ञ डा. कल्पना सुवेदीका अनुसार साउन र भदौमा शिशुहरू धेरै भर्ना हुने गर्छन्। धेरै डेलिभरी हुने भएकाले समय नपुगी जन्मिने, संक्रमणको जोखिम हुने र शिशुहरूमा जटिलता देखिने सम्भावना रहन्छ। गर्मी मौसममा ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यस्तो अवस्था आउने गरेको बताइन्छ।