कपिलवस्तु, असार १५ 

कबिराज अधिकारी, शिवराज नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

पोषणका सवालमा स्थानीय तहको भूमिकालाई सशक्त बनाउन आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पछिल्ला दिनहरूमा असन्तुलित खानपानका कारण जटिल रोगहरू बढ्दै गएको उल्लेख गर्दै, नगरपालिका स्तरबाट पोषण सुधारका लागि आवश्यक नीतिगत तथा कार्यगत पहलहरू गरिने बताउनुभयो।

कार्यक्रममा पूर्व संयोजक भुवनेश्वर शर्माले सहजीकरण गर्दै वडा र नगर तहमा पोषणमैत्री शासन व्यवस्थापनका लागि आवश्यक ४९ वटा सूचकका बारेमा जानकारी दिनुभयो। सहभागीहरूसँग जनप्रतिनिधिको भूमिका, स्वास्थ्यकर्मीहरूको उत्तरदायित्व, र समन्वयात्मक कामको बारेमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक कमला काफ्लेले नगरपालिकालाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्न निरन्तर रुपमा विविध कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले जनस्वास्थ्य सुधारका लागि पोषणका विषयमा व्यापक सचेतना आवश्यक रहेको धारणा राख्नुभयो।