शिवगढी खानेपानी समितिमा माओवादीको प्रभावशाली जित,गठबन्धन पराजित

कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका-९ स्थित बिजगौरी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट प्यानलले कांग्रेस, एमाले र विप्लव समूहको संयुक्त गठबन्धनलाई पराजित गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ।
कुल ७१७ मतदाता रहेको समितिमा ५६२ मत खसेका थिए। अध्यक्ष पदमा माओवादी केन्द्र समर्थित जय नारायण पुनले ३१५ मत प्राप्त गर्दै गठबन्धनका नन्दलाल पुरीलाई ८२ मतको फरकले पराजित गरे। पुरीले २३३ मत ल्याए।
उपाध्यक्षमा खिम बहादुर कामीले ३०९ मत प्राप्त गरी भोज बहादुर बिकलाई पछि पार्दा, सचिव पदमा विक्रम रोकाले ३१० मत ल्याई चन्द्रकला सुनारलाई पराजित गरे।
सह–सचिवमा सकल्प गुरुङले ३०५ मत प्राप्त गरी ईश्वर गिरीलाई पछाडि पार्दा, कोषाध्यक्षमा सृष्टि पुन ३११ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी पूर्ण सुनारले २३५ मत प्राप्त गरेका थिए।
निर्वाचन परिणामले स्थानीय तहमा माओवादी केन्द्रप्रति जनसमर्थन अझै बलियो रहेको देखिएको छ। कांग्रेस, एमाले र विप्लव निकट शक्तिहरूको संयुक्त प्रयास समेत माओवादी प्यानललाई पराजित गर्न असफल देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















