जातीय भेदभावविरुद्धको संघर्षलाई संस्थागत बनाउने उद्घोष

राम प्रघट कोरी, कपिलवस्तु।
“जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस–२०८२” को अवसरमा मुक्ति समाज नेपाल, लुम्बिनी प्रदेश कमिटीद्वारा चन्द्रौटा, कपिलवस्तुमा आयोजित पूर्ण बैठक, शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी पार्टी सचिव लक्ष्मण आचार्यले जातीय भेदभाव र छुवाछूतको जरा अझै गहिरो रहेको उल्लेख गर्दै, सामाजिक रूपान्तरणको आन्दोलन सशक्त बनाउन ऐक्यबद्धता, विधिसम्मत संगठन निर्माण, र वैचारिक स्पष्टता अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “जातीय भेदभाव र छुवाछूत केवल सामाजिक समस्या होइन, यो संविधान र मानव अधिकारको समेत उल्लंघन हो। यसलाई अन्त्य गर्न कानुनलाई अझ बलियो बनाउँदै व्यवहारमै लागू गर्ने अवस्था सिर्जना गर्नुपर्छ।” साथै, राष्ट्रिय सम्मेलनबाट प्राप्त जिम्मेवारीप्रति इमान्दार रहँदै संगठनात्मक रूपमा सबै जिल्लामा सक्रिय हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
विशिष्ट अतिथि तथा सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष नन्द विश्वकर्माले अझै पनि विभेदजन्य घटनाहरू घटिरहेको उल्लेख गर्दै, सबै नागरिकले समानताको आधारमा सम्मानपूर्वक जीवन यापन गर्ने हक सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
कपिलवस्तु जिल्ला पार्टी सचिव सी.बी. गहतराजले जातीय विभेद अन्त्यका लागि कानुनी संरचना सशक्त बनाइनुपर्ने बताउँदै, विभेदविहीन समाज निर्माणमा समुदाय र सरकारबीच सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयो।
प्रदेश अध्यक्ष कृष्ण विश्वकर्माले भने, “मुक्ति समाजको आन्दोलन लामो संघर्षपछि यहाँसम्म आइपुगेको छ। अब यस आन्दोलनलाई अधिकारको संस्थागत सुनिश्चिततासम्म पुर्याउनु पर्ने बेला आएको छ।” साथै, उहाँले संगठन विस्तारसँगै सामाजिक चेतनामूलक अभियान चलाउनु पर्ने आवश्यकता पनि औंल्याउनुभयो।
कार्यक्रममा हालै सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित १९ जना केन्द्रीय सदस्यहरू, सल्लाहकार परिषदका अध्यक्ष–उपाध्यक्ष, निर्वाचन आयोग, लेखा आयोग तथा अनुशासन आयोगका ९ जना सदस्यहरूलाई बधाई तथा सम्मान गरिएको थियो।
त्यसैगरी, प्रदेश कमिटीमा १० जना नेताहरूलाई मनोनयन गरिएको छ। मनोनित सदस्यहरूमा रुपन्देहीबाट दिपेन्द्र विश्वकर्मा र हेम विश्वकर्मा, कपिलवस्तुबाट कृष्ण सुनार, अर्घाखाँचीबाट अनिता सुनार र कृष्ण सुनार, प्युठानबाट रेखा परियार र लालबहादुर सुनार, दाङबाट पुलबहादुर गोतामे, र बर्दियाबाट भक्तबहादुर विक रहेका छन्।
बैठकले आगामी कार्तिक मसान्तसम्म रुपन्देहीमा दोस्रो प्रदेश सम्मेलन तथा कार्तिक महिनाभित्र सबै जिल्लामा जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने निर्णय गरेको छ।
कार्यक्रममा हरिश्चन्द्र विश्वकर्मा, तेजप्रसाद विश्वकर्मा, निर्मला विश्वकर्मालगायत नेताहरूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















