अजय मिश्र, कृष्णनगर, कपिलवस्तु | २०८१ जेठ १९

कपिलवस्तु जिल्लाको कृष्णनगरस्थित बसपार्कमा वडाकार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बलको समन्वयमा यात्रीहरूका लागि निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ।

आज एक कार्यक्रमका बीच भारतबाट आउने श्रद्धालु तथा यात्रीहरूलाई लक्षित गर्दै तराई-मधेश क्षेत्रमा अत्यधिक गर्मी बढेकाले निःशुल्क खानेपानीको व्यवस्थापन गरिएको वडाध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक ईश्वर लौडारीले मानवता नै सबैभन्दा ठूलो सेवा भएकाले यात्रीहरूलाई सहजता पुर्‍याउन वडाध्यक्षसँग समन्वय गरी पहल गरिएको बताए। साथै, नेपाल प्रहरीको नागरिक सहायता कक्ष पनि स्थापना गरिएकोले यात्रुहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निःशुल्क खानेपानी वितरण कार्य सराहनीय भएको बताउँदै आफूहरूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त उद्घाटन कार्यक्रममा वडा सदस्य नारायण कनोडिया, राहुल मोदनवाल, रेनु शर्मा, वडा सचिव जगदीश प्रसाद यादव, गणेश प्रसाद चौधरी, समाजसेवी पप्पू खान, शेखर बर्मा लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।