नेपाली कांग्रेस, राप्रपा र स्वतन्त्र पार्टीको समर्थनमा गठबन्धन प्यानल विजयी

शिवराज, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-१ मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको हालै सम्पन्न अधिवेशनबाट विनोद कुवरको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति निर्वाचित भएको छ। निर्वाचन यही जेठ १७ गते शनिबार सम्पन्न भएको हो।
निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सोनिया थारु, सचिव पूर्णमाली विक, सहसचिव भूपेन्द्रबहादुर बिष्ट क्षेत्री, कोषाध्यक्ष सरोज शर्मा रहेका छन्। यस्तै, सदस्यहरूमा पुरनबहादुर खत्री क्षेत्री, समिम अहमद मुसलमान, मिना थापा, गोमा देवी भारती, मोहम्मद वानी र शान्ता रावत क्षेत्री निर्वाचित भएका छन्।
१५०४ उपभोक्ता रहेको समूहमा ५८७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए। अध्यक्ष पदमा कुवरले ३०३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डिलप्रसाद गैरेले २४३ मत प्राप्त गरेका थिए।
विनोद कुवरको नेतृत्वमा बनेको प्यानल नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूको समर्थनमा निर्वाचनमा गएको थियो। सोही प्यानलमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका नेता सरोज शर्मा कोषाध्यक्ष पदका उम्मेदवारका रूपमा सामेल भएका थिए।
पुर्वअध्यक्ष रामबहादुर केसीले सामुदायिक वनको दोहन, आर्थिक अपारदर्शिता र उपभोक्ताबीच विभेद भएको आरोप लगाउँदै अधिवेशनको माग गर्दै आएका थिए। अन्ततः उनी पनि कुवर नेतृत्वको प्यानलमा समाहित भएका थिए, जसले जितलाई अझ सशक्त बनाएको बताइएको छ। डिल प्रसाद गैरेको प्यानललाई नेकपा (एमाले) समर्थक उपभोक्ताहरूको समर्थन रहेको थियो।
निर्वाचन पश्चात् उपभोक्ताहरूले नयाँ नेतृत्वले विगतका कमजोरी सुधार्दै वन संरक्षण र सम्वर्द्धनमार्फत समृद्धिको बाटोमा समिति अघि बढाउने अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















