पत्रकार दिपक कुँवरको असामयिक निधनले कपिलवस्तु संगै चन्द्रौटा पश्चिम क्षेत्र शोकमा
चन्द्रौटा,कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाका साधारण सदस्य तथा पूर्व कार्यसमिति सदस्य पत्रकार दिपक कुँवरको ३६ वर्षको अल्पायुमा असामयिक निधन भएको छ। दुई वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहनुभएका कुँवरको निधन २०८२ जेठ १६ गते शुक्रवार राति १ बजे लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा भएको हो। उहाँको एक श्रीमती, एक छोरा र एक छोरी सहित चार जनाको परिवार उनिमाथी आश्रित थियो ।
करिब डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारितामा समर्पित रहनुभएका कुँवर मोफसल खबर का अध्यक्ष तथा रेडियो शिवराजका स्टेशन म्यानेजरको रूपमा सञ्चार क्षेत्रमा गहिरो पहिचान बनाउनु भएको थियो। उहाँले समाचार संकलनदेखि प्रस्तुति र नेतृत्वदायी भूमिकामा सक्रियता जनाउँदै सधैं सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्दे आउनु भएको थियो।
नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाले एक विज्ञप्ति जारी गर्दै कुँवरको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “उहाँको निधनले हामीले एक मेहनती, कुशल, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएका छौं। महासंघले पनि एक सक्रिय सदस्य गुमाएको छ।”
कुँवरले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तिम सार्वजनिक स्टाटसमा लेख्नुभएको थियो: “समय कहिले काहीँ आफू अनुकूल नहुदो रैछ ” जय हनुमान।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























