शिवराज नगरपालिकाको चेतावनी : बालश्रममा लगाइन् नपाइने नत्र कारबाही हुने
चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाले बालश्रम निषेधसम्बन्धी चेतावनीसहितको सूचना जारी गर्दै १८ वर्षमुनिका बालबालिकालाई जोखिमयुक्त काममा संलग्न नगराउन सबैलाई आग्रह गरेको छ।
नगरपालिकाले संविधान र श्रम ऐनको व्यवस्थालाई स्मरण गराउँदै इटाभट्टी, उद्योग-कलकारखाना, खानी, होटल, ठेलागाडी, पसल तथा घरेलु कामजस्ता क्षेत्रमा बालबालिकालाई श्रमिकको रूपमा प्रयोग गर्नु गैरकानुनी भएको पालिकाले स्पष्ट पारेको छ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “बालबालिकालाई यस्ता काममा संलग्न गराएको भेटिएमा सम्बन्धित व्यक्तिविरुद्ध कानूनअनुसार कडा कारबाही हुनेछ।”
बालबालिका शारीरिक र मानसिक रूपमा संवेदनशील हुने भएकाले उनीहरूलाई शिक्षा र संरक्षणको वातावरण दिनुपर्ने नगरपालिकाको भनाइ छ।

साथै, अभिभावक, व्यवसायी, उद्योग सञ्चालक, तथा अन्य सरोकारवाला निकायहरूलाई सूचित गरिँदै कानूनी दायित्व पालन गर्न र बालमैत्री समाज निर्माणमा साथ दिन अपिल गरिएको छ।
शिवराज नगरपालिकाले बालअधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अनुगमनलाई अझ सशक्त बनाइने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























