धनकुटाबाट तस्करी हुँदै गरेको ६९० किलो गाँजासहित प्रहरीले धरानमा एक जनालाई पक्राउ गरेको छ। तस्करीका लागि प्रयोग गरिएको दुईवटा गाडी सरकारी नम्बर प्लेटका थिए।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार, पक्राउ परेका गाडीहरूमा बा १ झ ४६०५बा १ झ ५१२७ नम्बर प्लेट रहेका थिए। अनुसन्धानबाट ती नम्बर प्लेट नक्कली रहेको र निजी गाडीमा राखिएको पुष्टि भएको छ।

प्रहरीले धरान–१३ अमरहाटमा मंगलबार साँझ सवारीसाधन जाँचका क्रममा ती गाडीहरू नियन्त्रणमा लिएको हो। ५१२७ नम्बरको गाडी भाग्न खोज्दा प्रहरीले चार राउण्ड गोली चलाएको थियो। पछि उक्त गाडी धरान–१३ सूर्य मार्गमा छाडेर चालक फरार भएका थिए।

बा १ झ ४६०५ नम्बरको गाडीका चालक, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ निवासी ३६ वर्षीय श्यामकुमार विश्वकर्मा,लाई प्रहरीले पक्राउ गरेको छ। अर्का संलग्न व्यक्ति भने अझै फरार छन्।

प्रहरीका अनुसार तस्करीमा प्रयोग गरिएका गाडीहरूले संघीय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नम्बर प्लेटहरू प्रयोग गरेका थिए। तस्करहरूले चेकजाँचबाट बच्न सरकारी नम्बर प्लेट जडान गरेका थिए।

यसअघि पनि तस्करहरूले एम्बुलेन्स र इन्धन बोक्ने ट्यांकर प्रयोग गरेको तथ्य फेला परेको थियो। अहिले सरकारी नम्बर प्लेटका गाडी प्रयोग गर्ने नयाँ रणनीति अपनाएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।