पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुइनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ।

पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवं सैन्यकौशल प्रदर्शन गर्दै हेलिकप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुइनबाट उनीहरूको उद्धार गरेका हुन्।

एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई मध्येनजर गर्दै चालक दल र कमाण्डोले उद्धार कौशल प्रदर्शन गरेका थिए।

सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतहरुप्रति बधाई ज्ञापन गरेका छन्।

‘सामूहिक कार्यभावनाबाट प्रेरित भएर उद्धारमा संलग्न सेना, स्थानीय प्रशासन, उद्धार समन्वय विभाग र जनसाधारणलाई धन्यवाद !’ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्।

तुइनको एउटा डोरी चुँडिएर अर्को डोरीको भरमा आकाशमा नै आठ जना अड्किएका खबर स्थानीय सञ्चारमाध्यमले बिहान सात बजेदेखि प्रकाशन–प्रसारण गरेपछि घर, पसल, चमेनागृह, मल, कार्यालय सबैतिर उनीहरूको उद्धार कहिले र कसरी हुन्छ भन्ने जिज्ञासाका साथ देशभरका पाकिस्तानी टेलिभिजन अगाडि आँखा झिमिक्क नगरी झुम्मिएका थिए।

सारा पाकिस्तानीले तुइनमा अड्किएका सबैको सकुशल उद्धारको कामना गर्दै ईश्वरको प्रार्थना गरेका थिए। उद्धारस्थलमा एकत्र भएका जनसाधारण र पीडितका परिवारजनले सैनिक अधिकृतहरूप्रति आभार व्यक्त अङ्कमाल गरेका थिए। खुशीले गद्गद् भएका उनीहरूका आँखाबाट अविरल आँसु बगिरहेको थियो। उद्धार गरिएका सबैको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचारपछि उनीहरूलाई घर पठाइएको थियो।