पुस्तान्तरण र जीवनोपयोगी सीपको उद्देश्यसहित मोदीमा स्थानीय पाठ्यक्रम
पर्वत : स्थानीय आवश्यकता, स्थानीय तहको पहिचान, स्थानीय कला कौशलको निरन्तरता लगायतका विषयमा केन्द्रित रहेर स्थानीय तहहरूले ‘स्थानीय पाठ्यक्रम’ कार्यान्वयन गर्न पाउँछन्। स्थानीय पाठ्यक्रममा स्थानीय स्तरमा उपलब्ध त्यहीँको भूगोल, वातावरण, आर्थिक अवस्था, कला, संस्कृति लगायतका विषयहरू समावेश गरेर विद्यालयमा लागू गर्न पाइन्छ।
‘स्थानीय पाठ्यक्रम’ को मर्मले स्थानीय कुरामा जोड दिएको भए पनि स्थानीय तहहरूले यसको महत्त्व बुझ्न नसक्दा धेरै स्थानीय तहहरूले ‘स्थानीय पाठ्यक्रम’ को नाममा अङ्ग्रेजी ग्रामर, अतिरिक्त गणित, सामान्य ज्ञान, लगायतका विषयहरूको अध्यापन गराउँदै आइरहेका छन्। राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु स्थानीय पाठ्यक्रमले समेटेर विद्यार्थीलाई ज्ञान दिने भनिएको भए पनि ‘स्थानीय पाठ्यक्रम’ को स्थानमा ‘राष्ट्रिय पाठ्यक्रम’ नै लागू भइरहेका धेरै उदाहरण छन्।
यही अवस्थामा पर्वतको मोदी गाउँपालिकाले भने मङ्गलवारदेखि आफ्नो स्थानीय तहमा रहेका ५३ वटा सामुदायिक र चार वटा संस्थागत गरी ५७ वटा विद्यालयमा एकैसाथ ‘स्थानीय पाठ्यक्रम’ लागू गरेको छ। आधारभूत तह अन्तर्गत कक्षा एकदेखि आठसम्मका लागि ‘हाम्रो मोदी’ पाठ्यक्रम तयार पारेर लागू गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए।
‘कार्यपालिकाको बैठकबाट स्थानीय पाठ्यक्रम निर्माण गर्ने त्यसका लागि कार्यदल निर्माण गरेर जिम्मा दिने भनिएको थियो। कार्यदलले काम सकेपछि गाउँपालिकाभित्रका प्रधानाध्यापकहरूको बैठक राखेर त्यहीँ नै विमोचन गरिएको हो’, उनले भने, ‘हामीले यसमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक कुराहरूमा बढी जोड दिएका छौँ। सैद्धान्तिक कुराको रटानले शैक्षिक बेरोजगारीको अवस्था निम्तियो। शिक्षाले व्यवहारिक परिवर्तन ल्याउन सक्नुपर्छ भनेर यसलाई व्यवहारिक बनाउन हर सम्भव प्रयास गरेका छौँ। शिक्षा जीवनोपयोगी हुनुपर्छ।’ विद्यार्थीहरू आफ्नै स्थानीय तहको पहिचानको बारेमा जानकार नरहेकाले विद्यार्थीले आफ्नो स्थानीय तहको बारेमा जानकार रहनु भन्ने उद्देश्यले मोदी गाउँपालिकाको माटो सुहाउँदो पाठ्यक्रम बनाइएको लामिछानेको भनाई छ। मोदीमा पाइने अनेकौँ जडीबुटीदेखि प्राकृतिक उपहारहरू पनि पाठ्यक्रममा समावेश छन्।
अहिले सुरुमा पाठ्यक्रम मात्रै निर्माण गरेर विद्यालयमा पठाउन लागिएको छ। पाठ्यपुस्तक तयार नहुने बेलासम्म पाठ्यक्रमको आधारमा सम्बन्धित शिक्षक र विद्यालयले खोजी गरेर अध्यापन गर्नुपर्ने छ। छिट्टै नै पाठ्यपुस्तक पनि तयार पारेर विद्यालयमा पठाउने गाउँपालिकाको तयारी छ। ज्ञान दिनका लागि पाठ्यक्रम नै मेरुदण्ड भएकाले सकेसम्म छिटो विद्यालयमा पाठ्यक्रम उपलब्ध गराइएको हो।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख संयोजक झकप्रसाद गौतमका अनुसार करिब चार महिनामा कार्यदलले त्यहाँका सम्भावना र अवस्थाका बारेमा अध्ययन गर्दै पाठ्यक्रममा समावेश हुनुपर्ने विषयहरू तयार पारेको थियो। गत वैशाख २० मा गौतमकै संयोजकत्वमा १३ सदस्यीय कार्यदल निर्माण गरिएको थियो। सोही कार्यदलले स्थानीय मूल्य र मान्यता, चाल चलन, रीति रिवाज, कला संस्कृति लगायतको संरक्षण र सम्वद्र्धन गर्दै परम्परागत सीप र कलालाई आगामी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित पाठ्यक्रम तयार पारेको हो।
मोदी गाउँपालिकाभित्र रहेका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, वातावरणीय, पर्यावरणीय लगायतका महत्त्वपूर्ण विषयवस्तुहरूको बारेमा थाहा दिने तथा विद्यार्थीमा तथा नैतिकता, अनुशासन, सहयोगी सामाजिक व्यवहार निर्माण गर्नमा सहयोगी बन्ने गरे कार्यदलले पाठ्यक्रम तयार पारेको गौतमको भनाइ छ।
यो पाठ्यक्रम मङ्गलवारदेखि नै गाउँपालिकाका ५३ वटा सामुदायिक ४ वटा संस्थागत गरी ५७ वटा विद्यालयमा लागू भएको छ। ती विद्यालयका आधारभूत तह (कक्षा १–८) मा करिब तीन हजार भन्दा बढी बालबालिकाहरू अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























