१५ वर्षको निर्वासनपछि स्वदेश फर्किए थाक्सिन सिनावात्रा
काठमाडौं : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन्।
स्वनिर्वासनमा रहेका सिनावात्रा थाइल्याण्डको स्थानीय समयअनुसार आज बिहान ९ बजे निजी जहाजबाट सिंगापुरबाट बैंककको डन मुएङ विमानस्थलमा अवतरण गरेको बीबीसीले जनाएको छ। थाक्सिन सन् २००१ मा लोकप्रिय मतसहित थाइल्याण्डको सत्तामा आएका थिए।
पहिलोपटक प्रधानमन्त्री हुँदा थाइल्याण्डको अर्थव्यवस्थामा व्यापक सुधार गरेका थाक्सिन २००५ मा पुनः प्रधानमन्त्री निर्वाचित भएका थिए। तर, सन् २००६ को सेप्टेम्बरमा थाक्सिनले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने तयारी गरिरहेका बेला सेनाले सत्ता कब्जा गरेको थियो।
सेनाले सत्ता कब्जा गरेपछि सत्ताको दुरुपयोग गरेको भन्दै दोषी ठहर ग¥यो। उनीविरुद्ध थुप्रै अभियोग लागेपछि उनी स्वनिर्वासनमा गएका थिए। निर्वासनका क्रममा उनले अधिकांश समय दुबईमा बिताएका थिए। उनको निर्वासनसँगै थाइल्याण्डमा उनका समर्थक र सैन्य सरकार समर्थकबीच लामो समय तनावको अवस्थासमेत बनेको थियो।
पछि थाइल्याण्डका मतदाताले थाक्सिनकी बहिनी यिङ्लक सिनावात्रालाई प्रधानमन्त्री चुनेका थिए। थाक्सिन थाइल्याण्डमा अवतरण भएसँगै राता टिसर्टधारी व्यक्तिहरुले उनको उपस्थितिको खुसी मनाइरहेको बीबीसीले जनाएको छ।
थाक्सिन सरकारविरुद्ध सैन्य कू भएलगत्तै लामो समय थाइल्याण्डमा राता टिसर्टधारीको प्रदर्शन भएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















