काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्।

चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे। उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।