समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा
दिपक खड्का
कपिलवस्तु, २६ साउन ।
दुर्गा भगवती मा.वि. नयाँवस्तीमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ । समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय सुन्दरीकरणका लागि वृक्षारोपण गरिएको हो । शिवराज ३, स्थित उक्त विद्यालय परिसर हराभरा बनाइ सुन्दरीकरण गर्न समृद्धि फाइनान्सको सहयोगमा बिरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद बेल्बासेले बताए । 
वृक्षारोपण गर्दै कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले छोटो समयमा विद्यालयले शैक्षिक विकासमा फड्को मार्दै अगाडि बढेको देख्दा आफूलाई निकै खुशी लागेको बताए । “व्यक्ति घर परिवार र समाजको विकास र देशको समृद्धिको कल्पना केवल शिक्षामा सुधार भए मात्र संभव छ”- उनले भने । नगरपालिकाले नि:शुल्क शिक्षा कार्यान्वयन गर्दा कतिपय निर्णयहरूले शिक्षक र कर्मचारीहरूले दु:ख मानेपनि भविष्यमा खुशीको लहर आउने मेयर थापाले बताए ।
यस क्षेत्रमा अहिले पनि उच्च शिक्षामा दलित, अपाङ्ग र जनजाति समुदायको बालबालिकाहरूको उपस्थिति दर कम रहेको औल्याउँदै नगरप्रमुख थापाले अब हाम्रो काम बालबालिकाको शिक्षा कसरी गुणस्तर कायम गर्ने तर्फ केन्द्रित रहेको बताए । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटाले समृद्धि फाइनान्सले गरेको सहयोगप्रति वडाले सदैव सम्मान गर्ने बताए । 
नगरले ल्याएको नि:शुल्क शिक्षा अभियानले गरीब बालबालिकाका लागि फाइदा पुगेको बताउँदै अभियान सफल बनाउन सबैले होस्टेमा हैंसे थप्नुपर्ने उनले जिकिर गरे । यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु भुसालले विद्यालयलाई सबैको साथ र सहयोगको आवश्यकता रहेकोले सबैले सहयोग गरिदिनहुन आग्रह गरे । समृद्धि फाइनान्सका प्रमुख संगिन गैरेले सामाजिक उतरदायित्व अन्तर्गत बृक्षारोपण गरिएको जानकारी दिए । बृक्षारोपण कार्यक्रममा शिक्षक, विद्यार्थी, विद्यालय पदाधिकारी, सहयोगदाता र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























