शिवराज नगरपालिकाले अचाक्ली कर बृद्धि गरेको भन्दै चेम्बरको ध्यानाकर्षण, सर्वपक्षीय छलफलमा कर निर्धारण गरिएको मेयर थापाको दाबी
कमल बिष्ट
कपिलवस्तु, २४ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिकाले व्यवसायी नै धरासायी हुनेगरी कर वृद्धि गरेको भन्दै चेम्बर अफ कमर्श कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।
चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र महासचिव गोपालप्रसाद बन्जाडे द्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान अवस्थामा व्यवसायीहरू निकै मर्कामा परेको, व्यवसयीहरू बैंकको ऋण, व्याज, किस्ता तिर्न नसकेर घर तथा धितो लिलाम हुने अवस्थामा पुगेको, कतिपय ब्यापारीहरू आत्महत्या गर्नुपर्ने सम्मको अवस्थामा पुगेको , नागरिक हरू आर्थिक मन्दिका कारण आर्थिक गतिविधि गर्न नसक्ने अवस्थामा रहेको जटिल परिस्थितिमा समेत नगरपालिकाले घर बहाल कर, सिफारिस दस्तुर लगायत विभिन्न करमा वृद्धि गरी नागरिक तथा ब्यापारी लाई आर्थिक भार थोपरेकोमा ध्यानाकर्षण भएको जनाएको छ, साथै आर्थिक वर्ष ०८०/०८१ मा तोकिएको राजस्व तथा कर लाई सुधार गर्न विज्ञप्तिमा मार्फत सुझाव पेश गरेको छ ।
चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले स्थानीय सरकार चलाउन करको दायरा बढाएर करको दरमा समेत १० देखि २० प्रतिशत सम्म कर वृद्धि गर्दा ठिकै हुने भएपनि नगरपालिकाले कतिपय शिर्षकमा एकैपटक ४ सय प्रतिसत भन्दा बढीका दरले कर बढाउनु अत्यन्तै गम्भीर विषय भएको बताउदै व्यवहारिक अध्ययन बिना बढाइएको कर तत्काल सुधार गर्नुको विकल्प नरहेको बताउनु भयो ।
त्यस्तै विज्ञप्ति बुझ्दै शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले करको दर र दायराका विषयमा चेम्बर अफ कमर्शका प्रतिनिधि, चन्द्रौटा उद्योग वाणिज्य संघका प्रतिनिधि समेत लाई राखेर छलफल गरिएको बताउदै कतै सुधार गर्नैपर्ने विषय भएमा छलफल बाट सुधार गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
शिवराज नगरपालिकाले पछिल्लो समय स्थलगत अनुगमन गरी पालिकामा दर्ता नभएका उद्योग, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था , स्वस्थ्य संस्था लाई नगरपालिकामा दर्ता गरी करको दायरामा आउन ताकेता गरेको छ, संस्था दर्ता र करको दायरामा ल्याउने विषय उपयुक्त भएपनि करको दरको भारी वृद्धिले भने स्थानीय व्यापारी र आम नागरिक निरास बनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























