काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोरोना महामारी बढेको भन्दै सचेत रहने पार्टी पङ्तिलाई सचेत रहन निर्देशन दिनुभएको छ ।

आइतबार एक एक अपील जारी गर्दै उहाँले पार्टीका बैठक तथा भेलाहरुमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै सहभागी हुन निर्देशन दिनुभएको हो ।

हाल नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च वृद्धि भइरहेको छ । यसअवस्थामा सचेत रहन सम्पूर्ण नेपाली नागरिकहरुमा उहाँले आग्रहसमेत गर्नुभएको छ ।

अध्यक्ष नेपालले जारी गर्नुभएको अपीलमा पार्टीका कुनैपनि कार्यक्रम तथा भेलामा जाँदा थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो ।

‘सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागी हुने व्यवस्था गर्न÷गराउन निर्देशन गरिन्छ,’ उहाँले जारी गर्नुभएको अपीलमा जनाइएको छ ।

उहाँले ठूलो संख्यामा मानिस भेला हुने भेला तथा सभाहरु स्थगित गर्न पनि पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । त्यसको साटो वैकल्पिक माध्यम अपनाउन अध्यक्ष नेपालको आग्रह छ ।

‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ’, अपीलमा भनिएको छ ।

त्यस्तैगरी एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध आग्रह गर्नुभएको छ । उक्त कार्यमा सहयोग गर्न पार्टी पङ्तिलाई अध्यक्ष नेपालले आग्रह गर्नुभएको छ ।