राम अवतार चाैधरी । कपिलवस्तुमा २१औँ माघे संक्रान्ति फुटबल प्रतियोगिता सुरु भएको छ । शिवराज नगरपालिका-९, शिवगढीमा शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु गरिएकाे आयोजकले जनाएकाे छ । “विकासका लागि युवा अघि सराैँ, खेलसँग-सँगै शिवगढीलाई पर्यटकीय रुपमा विकास गराैँ” भन्ने मूल नाराका साथ सुर्यमुखी युवा क्लबकाे आयाेजनामा भएको प्रतियोगितामा १ दर्जन बढी टिमकाे सहभागीता रहने साथै एक साता सम्म उक्त प्रतियोगिता चल्ने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले प्रतियोगितालाई समुद्घाघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै खेलकुदले युवालाई गाउँ स्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उपयुक्त अवसर प्रदान गरेकाे बताए । खेलकुदले खेलाडी र देशकाे गरिमालाई उच्च स्थानमा पुर्‍याउने हुँदा खेलकुदमा युवालाई अग्रसर हुनुपर्नेमा उनले जाेड दिए ।

उनले सुर्यमुखी युवा क्लबले आफ्नो ठाउँमा लामाे समयदेखि निरन्तर रूपमा फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकाे बताउँदै समाज परिवर्तनमा क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै प्रशंसासमेत महासचिव चन्दले व्यक्त गरे । अर्को प्रसङ्गमा झुपडीदेखि काठमाडौंसम्म नेकपाले नेतृत्व गर्ने चाहना रहेकाे उनले जनाए । उनले भने “गाउँदेखि शहरसम्म, एउटा गरिबकाे घरदेखि शहरकाे महलसम्म जाेड्ने हाम्रो सपना छ”।

विप्लवले गरिब देशकाे मानिस भएर बाच्न नचाहेको भन्दै अब देशमा नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गर्ने दिन आएकाे बताए । उनले गाउँ, देश र विश्वलाई बदल्ने नेकपाकाे चाहना रहेकाे जिकिरसमेत गरे । लक्ष्मी प्रसाद देवकोटाकाे एउटा कविताकाे वाक्यांश सम्भझिँदै सपना ठुलाे देख्नु पर्छ भन्दै सबैले ठुलाे सपना बाेकेर अगाडी बढे अवश्य उक्त सपना पूरा हुने चन्दले बताए । तसर्थ खेलाडीहरू लगायत सबैलाई लक्ष्य लिएर अगाडी बढ्न उनले प्राेत्साहन दिए ।