शिक्षकलाई तलब खुवाउन केरा खेती
राम अवतार चौधरी । विगत डेढ बर्ष देखि काेभिडले प्रभावित भएका हरेक गतिविधि क्रमश निरन्तरता पाउँदै आइरहेकाे छन् ।
यस्तै निरन्तरता पाउँदै आएका गतिविधि मध्ये शिक्षा क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ । त्यसमा पनि गुणस्तरीय शिक्षा हुनु एकदमै आवश्यक छ । गुणस्तरीय शिक्षा बनाउनमा शिक्षककाे महत्त्वपूर्ण भुमिका हुन्छ । तर त्यस शिक्षकलाई सेवा प्रवाह गर्न आर्थिक स्राेत जुटाउन विद्यालयलाई सकस हुने गर्छ ।
भनिन्छ; जहाँ इच्छा, त्यहाँ उपाय । सकस भएपछि विकल्प खाेज्नु स्वाभाविक हाे । यस्तै जिल्लाकाे विजयनगर गाउँपालिकामा रहेकाे एक विद्यालयले शिक्षकलाई तलब खुवाउन नयाँ कामकाे सुरुवात गरेकाे छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय सञ्चालनमा प्रभावकारीता ल्याउन नयाँ विकल्पकाे खाेजी गरेकाे छ । विद्यालयले जुन हाे आफ्नै लगानीमा केरा खेती उत्तम विकल्प ठम्याएकाे छ ।
आइतबार उक्त विद्यालयले हकभाेग गर्दै आएकाे आफ्नो विद्यालयकाे जग्गामा १ हजार १५ वटा केराकाे बिरुवा राेपिएकाे विद्यालय प्रशासनले जनाएकाे छ । भाैगाेलिक बनावटकाे हिसाबले अति विकट क्षेत्रमा रहेकाे गाउँपालिकाकाे सुदुर पश्चिममा वडा नं. १, थराैली अवस्थित आधाभूत विद्यालय थराैलीले विद्यालयकाे नाममा रहेकाे ७ कट्ठा जग्गामा केराकाे बिरुवा राेपिएकाे प्रधानाध्यापक तुल बहादुर सारुले बताए ।
विद्यालयकाे आर्थिक स्थितिलाई बलियो बनाउनका लागि विद्यालयकाे जग्गामा केराकाे बिरुवा राेपिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्क बहादुर खन्गाहाले बताए । विद्यालयमा विद्यार्थीकाे अनुुपात र कक्षा अनुसार शिक्षककाे संख्या नपुग्ने भएकाले निजी स्रोतमा कार्यरत रहेका शिक्षकलाई पारिश्रमिक वा तलब खुवाउन धेरै नै गार्हो पर्ने हुँदा केराकाे खेतीले आर्थिक आय-आर्जन गरी निजी स्रोतका शिक्षकलाई पारिश्रमिक खुवाउन टेवा पुग्ने उनले जनाए ।
आगामी दिनमा माध्यमिक विद्यालय सञ्चालनकाे याेजना समेत रहेकाे अध्यक्ष खन्गाहाले जानकारी दिए । केराकाे खेतीले मा.वि. तहसम्म कक्षा सञ्चालनमा ठूलो मद्दत पुग्न सक्ने बताए । अध्यक्ष खन्गाहाले केरा खेतीले विद्यार्थीलाई कृषिकाे प्रयाेगात्मक सिकाईकाे साथै विद्यार्थीलाई कृषि खेतीपातीमा अनुभव पनि हुने जिकिर गरे।
साे विद्यालय कक्षा बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेकाे बताइएको छ । हाल उक्त विद्यालयमा ४ सय ११ विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारी काेटामा ३ जना, गाउँपालिकाकाे स्रोतबाट खटाईएको स्वयंसेवक शिक्षक २ जना र विद्यालयकाे निजी स्रोतमा ५ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















