स्थानीय हस्तकलाको जगेर्नामा युवा पुस्ता
चन्द्रौटा(कपिलवस्तु) । लोप हुन लागेका स्थानीय हस्तकलाका सामग्री जगेर्ना गर्न यतिबेला युवा पुस्ता अग्रसर देखिएका छन् । समय परिवर्तनसँगै आधुनिक मेसिनबाट बनेका सामग्रीले बजार छाएपछि पछिल्लो समय स्थानीय युवा पुस्ता परम्परागत सीप, हस्तकला, भेषभुषा र संस्कृतिको जगेर्नामा जुटेका हुन् ।
यस्तै उदाहरणीय कार्यमा जुट्नु भएको छ शिवराज नगरपालिका १, शिवपुरकी अस्मा थारु । जिल्लाको शिवराज १, उमरीचोकमा सटर भाडामा लिई स्थानीय उत्पादनलाई जगेर्ना गर्न उहाँले “स्थानीय हस्तकला ढकिया र लेहङ्गा पसल” संचालनमा ल्याउनुभएको छ । पछिल्लो समय थारु युवा पुस्तामा परम्परागत हस्तकला, सीप हराउँदै जान थालेपछि उहाँ यस्तो अभियानमा जुट्नुभएको हो । उहाँले संचालन गर्नुभएको पसलमा मुज र पुँजा (एक प्रकारको खर) बाट निर्मित विभिन्न किसिमका हस्तकलाका आकर्षक सामग्रीहरु ढकिया, पेनदानी, खुत्रुके, व्याग तथा थारु महिलाको परम्परागत पहिरन लेहङ्गा विक्री वितरण र भाडामा लैजानका लागि राखिएका छन् । यतिमात्र नभई उहाँले युवा पुस्तालाई हस्तकलाका सीप हस्तान्तरणका लागि समेत योजना बनाई अघि बढ्ने बताउनुभएको छ ।
अस्माले संचालनमा ल्याएको हस्तकला सामग्रीको पसल शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले उद्घाटन गर्नुभयो । पसल उद्घाटन गर्दै उपप्रमुख थारुले व्यवसाय सफलताको शुभकामना दिंदै थारु युवायुवतीलाई जातीय पहिचानमा अग्रसर हुन सुझाव दिनुभयो । थारु जातिको पछिल्लो पुस्तामा जातीय पहिचान हराउँदै गएकाले जगेर्नाका लागि सबै युवायुवती अभियानमा लाग्नुपर्ने उहाँले जोड दिनुभयो । यसका लागि आफूले समेत सहयोग पु¥याउने उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गर्नुभयो ।
यता पसल उद्घाटन कार्यक्रममा सहभागी किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले किशोर किशोरीहरुलाई सीप अनुसारको व्यवसायिक हुन सुझाव दिनुभयो । किर्डाक नेपालले समाज सशक्तिकरणका साथै जीविकोपार्जन, शिक्षा, स्वास्थ्यका सवालमा काम गर्दै आएको जानकारी गराउँदै युवापुस्तालाई व्यवसायिक बनाउन सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।