काठमाडौं : प्रभु क्यापिटलले बिक्री खुला गरेको प्रभु सेलेक्ट फन्डमा शुक्रबारसम्म १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ५६ हजार ३१२ जना आवेदकले १३ करोड ६ लाख २० हजार ६०० इकाईमा आवेदन दिएका छन् । यो सर्वसाधारणले भर्न पाउने हिसाब गर्दा १.५३ गुणा धेरै इकाई हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रभु म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको हो ।
जसमध्ये फन्डले १४% अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र १% अर्थात १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो ।
यो सात वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम १०० देखि ८ करोड ५० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा जेठ ९ गतेसम्म आवेदन दिन सकिन्छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल प्रभु बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।