चन्द्रौटा (कपिलवस्तु), ८ बैशाख । शिवराज नगरपालिकाभित्र संचालित सामुदायिक र संस्थागत विद्यालयहरूको वार्षिक परीक्षा यही बैशाख १५ गतेदेखि हुने भएको छ ।
आधारभूत तह उत्तीर्ण परीक्षा समिति र शिक्षाका विभिन्न पेशागत संगठनका प्रमुखहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो । कोभिड १९ को बढ्दो प्रभावले उत्पन्न हुनसक्ने असहज परिस्थितिलाई मध्यनजर गरि कक्षा ८ बाहेक अन्य कक्षा १ देखि ९ सम्मको परीक्षा बैशाख १५ बाट सुरू हुने निर्णय भएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले कपुरी अनलाइनलाई जानकारी दिनुभयो । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा भने बैशाख २४ गतेदेखि संचालन गरिने उपसचिव पन्थीले जनाउनुभयो । परीक्षा शनिबार समेत संचालन गरिने उहाँले बताउनुभयो । यसअघि प्रधानाध्यापकहरूको गत बैशाख २ गते बसेको बैठकले आउँदो जेठ २ गतेदेखि वार्षिक परीक्षा संचालन गरिने निर्णय गरेको थियो ।
बैठकले कक्षा ८ बाहेक अन्य कक्षाको प्रश्नपत्र निर्माण, परीक्षा संचालन र नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मा विद्यालयलाई दिएको छ । कोभिड १९ को बढदो प्रभावबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा केन्द्र भने सम्बन्धित विद्यालयमा हुने बैठकले निर्णय गरेको छ । तर कक्षा ८ को प्रश्नपत्र निर्माणको लागि भने विषयगत शिक्षकहरू छनौट गरिएको बताइएको छ ।
बैठकमा नगरप्रमुख नेत्रराज अधिकारीले कोभिड १९ को असहज परिस्थितिलाई ख्याल गर्दै परीक्षालाई चुस्त दुरुस्त र मर्यादित बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।