कोरोनाको कँहरमा पनि रोकिएन मानव तस्करी
चन्द्रौटा(कपिलवस्तु)
कोरोना कँहरको बेलापनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आएको छैन । कोभिड–१९ का कारण बेरोजगारी बढिरहेको बेला विभिन्न प्रलोभनमा पारी बिचौलियाले सोझासाझा युवतीलाई सीमा कटाउने गरेको पाइएको छ ।
यसैबीच कपिलवस्तुको कृष्णनगर, तौलिहवा र चन्द्रौटा क्षेत्रमा रहेर सीमा निगरानी गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो चार महिनामा २२ युवतीलाई बेचबिखनबाट जोगाएको छ । लकडाउनको मौका छोपी विभिन्न प्रलोभन देखाई बेचबिखनका लागि भारत लगायत तेस्रो मुलुकमा लैजान लागेका ती युवतीहरुलाई शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरेको हो ।
उद्धार गरिएकामध्ये ८ जनालाई भारतका विभिन्न शहरबाट नेपाल फर्काइएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । यस्तै १४ जनालाई भने नेपाल भारतको सीमा परामर्शका क्रममा घर फर्काइएको पीआरसी सुपरभाइजर बसन्ती जि.सी.ले जानकारी दिएकी छन् ।
लकडाउनको समयमा सबैभन्दा बढी साउन महिनामा ११ जनालाई बेचबिखनबाट जोगाउन सफल भएको पीआरसी सुपरभाइजर जि.सी.ले बताइन् । यसैगरी जेठमा २ जना, असारमा ८जनाको उद्धार गर्न सफल भएको पीआरसी जिल्ला संयोजक निशा पन्थीको भनाई छ । “यता भदौ महिनामा भने १ जनाको उद्धार गर्न सफल भयौं” –जिल्ला संयोजक पन्थीले भनिन् ।
उद्धार गरिएकामध्ये १२ जना प्रहरी मार्फत र १० जनालाई संस्था मार्फत घर परिवारलाई जिम्मा लगाइएको क्षेत्रीय संयोजक भट्टराईले बताए । भारतबाट उद्धार गरिएका ४ जनाको मुद्दा दर्ता भई अनुसन्धान कार्य अघि बढेको पीआरसी क्षेत्रीय संयोजक भट्टराईले जनाएका छन् ।