कपिलवस्तु
जब कसैलाई अध्यनको भोक लाग्छ, तब मान्छे आफैंदेखि विद्रोह सुरु गर्छ । समाजले के भन्ला कसो भन्ला ? त्यसभन्दा पर सोच्न थाल्छ । यसको ज्वलन्त उदाहरण हुन्, शान्ता चौधरी र करिश्मा मानन्धर हुन् । जीवनको मध्य भागमा उभिएर स्कुले जीवन सुरु गरेका दुवै आफनो क्षेत्रमा सफल छन् ।
शान्ता चौधरी अहिले प्रतिनिधिसभा सदस्य छिन् । तर जीवनको १८ वर्ष अर्काका लागि बित्यो । अर्थात् जमिन्दारको घरमा कमैया भएर । ८ वर्षदेखि कमैया बसेकी चौधरीले १८ वर्षसम्म साहुकै आँगनमा बिताइन् । मनमा पढ्ने रहर भएपनि साहुको छोराछोरी पढेको देखेर चित्त बुझाउनु पर्ने अवस्था थियो । तर अध्ययनको भोकले भने उनलाई चुप लाग्न दिएन । त्यसैले साहुका छोराछोरीले पढेको लुकीलुकी हेरेर आफू पनि सिकिन् । उनीसँग लेख्नलाई कलम थिएन, उनले भाँडा माझ्ने क्रममा अंगारले पहिलो अक्षर लेखिन्, कपुरी क ।
‘जमिन्दारको छोराछोरीले झोला बोकेको मलाई पनि खुब रहर लाग्थ्यो । तर के गर्ने आफू त भाँडा माझ्ने । तर त्यही भाँडा माँझ्दा बचेको कोइलाले अक्षर लेख्न सिकें,’ पोखरामा जारी ८ औं साहित्य सम्मेलनको ‘अध्ययनको भोक’ सेसनमा सविना कार्कीसँग उनले अनुभव सुनाइन्, ‘सानैदेखि पढ्ने अध्ययनको भोक ममा लुकेर बसेको थियो । त्यही भोकले अध्ययन बढाएँ ।’
०६२/६३ सालको जनआन्दोलनपछि उनले १८ वर्षको पिञ्जडाबाट मुक्त पाइन् ।
लगत्तै उनले संविधान सभाको चुनावमा तत्कालीन एमालेबाट टिकट पाइन् । र संविधान सभाको सदस्य भएर काठमाडौं लागिन् । ‘संविधानसभा सदस्य भएपनि त्यहाँ पुग्दा केही जान्दिनथेँ । एक्लो भएको महसुस भयो,’ चौधरीले सुनाइन्, ‘तर पछि मलाई औैंठा छाप भनियो । त्यसले मलाई धेरै दुःख लाग्यो र पढ्नुपर्छ भन्ने लाग्यो ।’
संविधानसभा भवनमा अरु सांसदले पत्रिका पढेको देखेर चौधरीलाई पनि रहरले सताउँथ्यो । तर अक्षर चिन्दिनथिन् ‘पत्रिकामा अक्षर पढिनँ, चित्र हेरेर बस्थें,’ उनले भनिन् । प्रतिनिधिसभा सदस्य हुँदा आफ्नै समितिले गरेका निर्णय पनि पढ्न नजानेको तीतो यथार्थ सुनाइन् । अब उनको एउटै लक्ष्य छ, पीएचडी गर्ने ।
१४ वर्षदेखि कला क्षेत्रमा लागेकी करिश्मा मानन्धर आफ्नो क्षेत्रमा व्यस्त भएकी कारण पढाइलाई निरन्तरता दिन सकिनन् । तर, लामो समयपछि उनी पनि कक्षा ८ देखि फेरि पढाइलाई निरन्तरता दिइन् । एसइई पनि पास गरिन् । आफ्नो जीवनका मध्य भागमा अध्ययनका लागि कक्षा कोठामा जाँदा अप्ठ्यारो महसुस गरेको सुनाइन् । ‘यो एजमा जब स्कुल गएँ । त्यसपछि पनि हिनताबोधका कुरा नआएका होइन । खराब मानसिकता बोकेकाले कहिल्यै असल सोच्दैनन्,’ यनले अनुभव सुनाइन्, ‘प्रहारले नछुने भन्ने हुँदैन । तर क्षमताको विकास गर्न पढ्नुपर्छ । त्यही भएर पढाइलाई निरन्तरता दिएकी हुँ ।’
श्रोत टोरपाटन न्युज