नेपालगञ्ज, बाँके — थाइल्याण्डको पटायामा सम्पन्न १२औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। प्रतियोगितामा बाँके जिल्ला, नेपालगञ्ज-१२, कोरियापूरका करण वाडिया विश्वका विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्पियन बन्न सफल भएका छन्।

वाडियाले ६० केजी तौल समूहको सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेसमा रजत पदक (सिल्वर) र हेक लिफ्ट विधामा स्वर्ण पदक (गोल्ड) जितेका हुन्। उनले हेक लिफ्टमा २२० केजी भार उठाउँदै विश्व कीर्तिमान समेत कायम गरेका छन्।

त्यसैगरी, नेपालगञ्ज-७, डिएसपी रोड निवासी मोहित गुप्ताले ६८ केजी तौल समूहको सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक र हेक लिफ्टमा कांस्य पदक (ब्रान्ज) जित्न सफल भए।

यस्तै, नेपालगञ्ज-२, घरवारीटोलका सन्तोष काजी शाक्यले ७६ केजी तौल समूहको पुरुषतर्फ इन्क्लाइन बेन्च प्रेसमा रजत पदक जितेका छन्।

प्रतियोगितामा बाँकेबाट ३ जना र अन्य जिल्लाबाट ६ जना गरी कुल ९ जना नेपाली खेलाडीले सहभागिता जनाएका थिए। नेपाली टोलीले कुल ७ वटा स्वर्ण, ५ वटा रजत, र २ वटा कांस्य पदक सहित १४ वटा पदक प्राप्त गर्न सफल भयो। समग्र टिम ईभेन्टमा नेपालले दोस्रो स्थान हासिल गर्दै गौरवपूर्ण सफलता हात पार्‍यो।

करण वाडिया एक्स्ट्रिम फिटनेस नेपालगञ्ज प्रा.लि. का सदस्य समेत हुन्। उनले यसअघि सन् २०२४ मा कजाकिस्तानमा सम्पन्न ११औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिप मा समेत स्वर्ण पदक जित्दै नेपालको प्रतिनिधित्व गरिसकेका थिए।

वाडियाले विश्वका चर्चित खेलाडीहरूलाई पछि पार्दै पदक जितेर देश र जिल्लाको गौरव बढाएका छ ।