सोनवागढमा ऐतिहासिक बोलबम धामको सुरुवात
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ भितरियास्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल सोनवागढमा पहिलोपटक बोलबम धामको आयोजना सुरु गरिएको छ। श्रावण महिनाको पहिलो सोमबारदेखि विधिपूर्वक आरम्भ गरिएको यस धार्मिक कार्यक्रमलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्जु थारुका अनुसार, श्रावण ५ गतेदेखि महिनाभर बेलनदी र सुकबेलनदीको संगमस्थलबाट जल उठाई कलश शोभायात्रा, रुद्राभिषेक, चण्डीपाठ, हवन लगायतका विविध धार्मिक क्रियाकलापहरू सञ्चालन गरिने छन्। साथै, गुरु ख्यामप्रसाद खनालद्वारा धार्मिक कथा प्रवचन पनि गरिनेछ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सोनवागढ बोलबम धामलाई शिवराज नगरको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने दिशामा नगरपालिकाले विशेष प्राथमिकता दिने बताए। उनले भने, बोलबम धाम शिवराज नगरको गौरव हो, यसको ऐतिहासिक र धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबैले योगदान गर्नुपर्छ।
मन्दिरका पूर्व अध्यक्ष राजु खरालले महिनाभर सञ्चालन हुने यो धार्मिक कार्यक्रम कपिलवस्तु जिल्लाको धार्मिक इतिहासमै विशेष स्थान राख्ने बताए। उनले तिर्थस्थलहरूको संरक्षण र प्रचारप्रसार अपरिहार्य रहेको उल्लेख गर्दै यस वर्ष अन्य नजिकका धार्मिक स्थलहरूलाई समेटेर व्यापक कार्यक्रम सञ्चालन गरिएकाले सबै श्रद्धालुहरूलाई सहभागी हुन आह्वान गर्नुभयो ।
धामको समुचित व्यवस्थापनका लागि हर्जु थारुको अध्यक्षतामा १५१ सदस्यीय समिति गठन गरिएको छ। संरक्षक समितिमा संविधानसभा सदस्य अभिषेक प्रताप शाह, प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, वडा अध्यक्ष टेकलाल सापकोटा, मन्दिरका पूर्व अध्यक्ष टिकाराम खराल र प्रेमलाल थारुलाई सल्लाहकारको रूपमा चयन गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























