काठमाण्डाै, १४ कार्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियाे गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ जानु भएको छ ।

हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् । उनीहरुले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन् ।

हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गर्नुभएको थियो । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि अहिले बिहान ८ बजे पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गरेर त्यसपछि उहाँले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ । गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गर्ने तयारी छ ।

गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डाै फर्किने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ चार दिने नेपालको भ्रमण पूरा गरी भोलि बेलायत जाने तालिका रहेको छ । तस्बिर : रासस