आधारभूत अस्पतालमा २४ घण्टे सेवा शु:भारम्भ मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्छः नगर प्रमुख थापा

एसआर सिटी,चन्द्रौटा ।
शिवराज नगरपालिकाद्वारा संचालित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा २४ घण्टे सेवा सुभारम्भ भएको छ ।
अस्पताल प्राङ्गणमा शुक्रबार आयोजित एक समारोहबीच २४ घण्टे सेवा समुद्घाटन गरिएको हो । नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालद्वारा २४सै घण्टा आकस्मिक सेवा, डिजिटल एक्स–रे, सःशुल्क फार्मेसी सेवा, ल्याब सेवा उपलब्ध गराउने अस्पताल व्यवस्थापन समिति संयोजक एवं वडा नं. ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले जानकारी दिनुभयो । सबै सरोकारवालाको सुझावलाई सिरोधार्य गर्दै अस्पताललाई अझ व्यवस्थित बनाउने संयोजक बेल्बासेले प्रतिबद्धता जाहेर गर्नुभयो ।
२४घण्टे अस्पताल सेवा सुभारम्भ गर्दै नगरप्रमुख अजय थापाले अस्पतालले सेवाग्राहीलाई मुस्कान सहितको गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सुझाव दिनुभयो । नगरप्रमुख थापाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने कार्यरत कर्मचारीलाई सुझाउनुभयो । अस्पताललाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउन अगाडि बढ्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । अस्पतालका संरक्षक समेत रहनु भएका नगरप्रमुख थापाले अबको केही दिनमै यस अस्पतालमा जटिल प्रकारको प्रसुती सेवा समेत संचालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पोष्टमार्टमका लागि तौलिहवा, बहादुरगञ्ज पुर्याउँदा नागरिकले पाएको सास्तीलाई मध्यजर गर्दै छिट्टै नै पोष्टमार्टमको काम समेत संचालनमा ल्याउने ले उहाँले उद्घोष गर्नुभयो । काम गर्ने दौडानमा कहींकतै कमजोरी भएमा सच्याएर जाने थापाले बताउनुभयो । शिवराजको समग्र विकासको लागि सवै नगरबासीहरुको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका संस्थापक नगरप्रमुख नेत्रराज अधिकारीले कोरोना कहरका बीच ७० दिनमै आकस्मिक रुपमा अस्पताल निर्माण गरिएको औल्याउँदै यसलाई यस क्षेत्रकै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न पालिका लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले नामको मात्र होइन कामले सेवाग्राहीको विश्वास जित्ने गरी सेवा प्रभाव गर्नुपर्ने बताउनुभयो ।
नगर उपप्रमुख शिवकुमारी चौधरीले सेवाग्राहीको चापलाई मध्यनगर गर्दै पालिकाले २४घण्टे सेवा शुचारु गरिएको औल्याउनुभयो । पछिल्लो समय शिवराजका मात्र नभई छिमेकी पालिकाबाट समेत सेवा लिन आउनेको संख्या बढ्दै गएको बताउनुभयो । यसका लागि पनि आधारभूत स्वास्थ्य सेवा अस्पताललाई अझ व्यवस्थित गर्दै अगाडि बढेको उद्घोष गर्नुभयो । यसअघि पालिकाले आधारभूत अस्पताल तथा नगरका हरेक स्वास्थ्य चौकीमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा र २४घण्टे बर्थिङ सेन्टर संचालन गरी सेवा प्रदान गर्दै आएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले २४घण्टे सेवा संचालन गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । साथै गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा यस क्षेत्रका नागरिकले निकै समस्या झेल्नुपरेको औल्याउँदै यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नं. १का वडाध्यक्ष खिमविक्रम के.सी., वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, नेपाली कांग्रेसका नगर अध्यक्ष मधुसुदन पोख्रेल, माओबादी केन्द्रका कार्यबाहक नगर अध्यक्ष चिन्ता बहादुर दर्जी, राप्रपा नगरअध्यक्ष चित्रबहादुर के.सी., राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णु प्रसाद खतिवडा, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । अस्पताल व्यवस्थापन समिति सदस्य गोपाल प्रसाद बञ्जाडेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन अस्पताल व्यवस्थापक बीरेन्द्र कुमार मिश्रले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










