विराटनगर : ‘निधारको त्यो रातो टीका, छाप बनी बस्यो यो दिलैमा’ झट्ट हेर्दा गीतको हरफ र नुमा लिम्बू (चञ्चला) को स्वरुपमा कुनै कमी देखिएको थिएन । गाजलले पोतिएका चिम्सा आँखा । गलामा रातो र हरियो पोतेले सजाएकी, रातो सारीले खुबै सुहाएको थियो।

तीजको माहोलमा बेहुली झैँ सिंगारीएकी नुमा कुनै साधरण महिला भने होइनन् । जन्मँदा पुरुष अर्थात् छोरा भएर जन्मेकी नुमा बढ्दो उमेरसँगै उनको इच्छा र चाहानाहरू छोरीझैँ भएपछि अहिले आफूलाई एउटी महिला भएर समाजमा पहिचान दिँदै आइरहेकी छिन्।

बाल्यकालदेखि अहिलेसम्म संघर्षका थुप्रै जंघार तरेर अहिले आफ्नो समुदाय लैंगिक अल्पसंख्यकको क्षेत्रमा अधिकार स्थापित गराउने काममा अगाडि बढिरहेकी छिन्। हरेक मान्छेको आ–आफ्नो चाहनाअनुसार जिन्दगी जिउनु पनि जीवनको एउटा महत्वपूर्ण पाटो रहेको बताउने उनी अहिले तीजका भगवानको पूजा–आरधना गरी व्रत बसिरहेकी छिन्। अन्य महिलाहरूले जस्तो व्रत बसेर असल र आफूलाई बुझ्ने श्रीमान पाउने प्रार्थनासहित व्रत बसेको उनी सुनाउँछिन्।

‘हामी वर्षौंदेखि महिला हौँ भनेर समाजमा आफ्नै अस्तित्व र पहिचानको लडाइँ लडिरहेका छौँ, हाम्रो पनि त इच्छा चाहना अन्य महिलाहरूको जस्तै हुन्छ।‘ उनी सुनाउँछिन्, उहाँहरूले जस्तै मैले पनि असल र मलाई बुझ्ने श्रीमान पाउँ भनेर व्रत बसेकी हुँ।’

तीजमा सधैँ व्रत बस्दा अन्य महिलाले जस्तै सूर्य अस्त नभएसम्म पानी, फलफूल नखाई निराहार व्रत बस्ने गरेको उनी सुनाउँछिन्। ‘म अन्य महिलाहरू जस्तै निराहार व्रत बस्छु, उनी सुनाउँछिन्, ‘साउन महिना, सोमबार र तीज त्यसमा पनि आज त विश्वकर्मा पूजा, सोमबार तीज सबै मिलेको छ त्यसैले आज त झन कठोर व्रत बस्छु।’

भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने बताउने उनी आफूले इच्छाएको कुरा नपुगिन्जेल कठोर व्रत बस्ने बताउँछिन्। आफ्नो कोही नहुनेको भगवान हुने र भगवान प्रतिको आस्था नै सबै भन्दा महत्वपूर्ण पाटो रहेको बताउने उनी आस्था, विश्वास र आफ्नो लक्ष्य प्राप्तिको बाटो देखाउने आफ्न्त नै भोलेनाथ बाबा रहेको बताउँछिन्।

लिड नेपाल नामक संस्थामा कार्यक्रम संयोजक भएर काम गरिरहेकी उनी विगत स्मरण गर्दै सुनाउँछिन्, कुनै समय अन्य महिलाहरू तीज कार्यक्रममा नाचिरहेको देख्दा आफूलाई पनि खुब नाच्न मन लागे पनि त्यहाँ समाहित हुन नै असहज महसुस हुन्छ। तर अहिले त्यो विगत जस्तो छैन, हामीलाई हेर्ने दृष्टिकोण बदलिएको छ, अहिले त हामी आफ्नै संस्थाबाट पनि कार्यक्रमको आयोजना गरिरहेका हुन्छौँ।’