पर्वत : पर्वतको जलजला गाउँपालिका–५ कुवापानी स्थित चिहान डाँडाबाट जमिनको केही भागको धाँजा फाटेर बस्तीमा आउने उच्च जोखिम भएपछि भूगर्वविद्हरुको टोलीले अध्ययन थालेको छ।

चिहान डाँडाबाट गत असार ९ गते ग्रेगर र लेदोसहितको पहिरो मूल घडेरीसम्म आउँदा त्यहाँ रहेका सात परिवार नै विस्थापित भएका थिए। थप पहिरो आउन तयारी अवस्थामा रहेको चट्टान अलि ठूलो वर्षा हुनासाथ खसेर बराह तालको मन्दिरको आसपासको क्षेत्र हुँदै पूर्णगाउँ र ओखरबोटसम्म आउने अवस्था छ। त्यही अवस्थाले नागरिकलाई उच्च जोखिममा पारेपछि जलजला गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रमुख जिल्ला अधिकारीको समन्वयमा भूगर्वविद्हरुको टोलीले बुधबारदेखि भूगोलको अध्ययन शुरु गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका तीन जना प्राविधिकले माटोको परीक्षणदेखि त्यहाँको जमिनको अवस्थाका बारेमा ‘ड्रोन’ बाट समेत तस्विर र भिडिओ खिच्ने काम गरिरहेका छन्। टोलीमा मनिष खनाल, ईश्वर न्यौपाने र विरास मल्ल सहभागी छन्।

‘हामीले हिजो पहिरोको पुछारको भागमा रहेको जलजला–२ को पूर्णगाउँ, त्योभन्दा माथि बराह तालको मन्दिरको आसपासको क्षेत्र (गेगरले असर गरेको क्षेत्र) हेर्दै वडा नं. ५ मा रहेको मूल घडेरी लोप्रेको भीर स्थित कुवापानीबाट पहिरो शुरु भएको ठाउँमा हेरेका छौँ’, प्राविधिक टोलीसँगै रहेका जलजला गाउँपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भेषनाथ आचार्यले भने, ‘पहिरोले पूर्ण असर पार्ने भनेको वडा नं. २ मा हो। मूलघडेरीमा रहेको बस्तीलाई प्रत्यक्ष असर पार्दै पूर्णगाउँ र ओखरबोटसम्म पहिरो पुग्ने देखिन्छ।’

गत असार नौ गते आएको लेदो र गेगरले असर गरेका सात घर बाहेक अरू विस्थापित नभए पनि बस्ती भने जोखिममै छ। गाउँको सिरानमा रहेको चट्टान फुटेर खस्न मात्रै बाँकी रहेको र त्यो खस्यो भने तल बस्तीसम्म आइपुग्ने भएकोले धेरै नै घर जोखिममा रहेका आचार्य बताउँछन्। भूगर्वविद्ले पनि प्रारम्भिक रूपमा मूल घडेरी र पूर्णगाउँको बस्ती जोखिममा रहेको बताएका उनको भनाइ छ। भूगर्भविद्को टोलीले पहिरोबाट जोगिनको लागि विकल्प के हुने भन्ने बारेमा समेत अध्ययन गरिरहेको छ। वर्षा नभएको बेलामा समेत सुख्खा पहिरो खस्ने गरेको बताउँदै शाखा प्रमुख आचार्यले थोरै मात्रै वर्षा भएको अवस्थामा पनि गेगर सहितको लेदो बस्तीसम्म आउने बताए।

भूगर्वविद्हरुको टोली सहित बुधवार स्थलगत रूपमा अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले विज्ञहरूले अध्ययन गरेपछि त्यहाँको भूगोलको अवस्थाका बारेमा विस्तृत विवरणहरू तयार हुने र सोही अनुसार बस्ती र पहिरोको व्यवस्थापन लागिने बताए। प्रारम्भिक रूपमा हेर्दा भने असारमा नै विस्थापित भएका सात परिवाहरुलाई सोही बस्तीमा नफर्काई वासस्थान सार्नुपर्ने देखिएको उनको भनाइ छ।

‘पहिरो झरेर आएपछि जुन ठाउँमा लेदो र गेगर जम्मा भएको छ त्यहाँका घरहरू तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्थामा देखिएका छन्। प्रारम्भिक निष्कर्षले पनि ती घर पहिरोको उच्च जोखिममा रहेको देखिएको छ’, प्रजिअ आचार्यले भने, ‘विस्थापित भएका परिवारलाई मनसुनजन्य विपद् कार्यविधिमा रहेको व्यवस्था अनुसार घर निर्माणको लागि पाउने अनुदान प्रदान गर्ने छौँ। तत्कालका लागि ती घर सार्नु नै उत्तम हो। अब पहिरो भन्दा धेरै तलसम्म रहेका घर र धाँजा फाटेको ठाउँको अवस्थाका बारेमा भूगर्भविद्को टोलीले जे प्रतिवेदन दिनुहुन्छ सोही अनुसारको योजनामा लाग्ने छौँ।’ जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल, सम्बन्धित वडाका अध्यक्ष, गाउँपालिकाका कर्मचारी लगायत पनि पहिरोको स्थलगत अवलोकनमा पुगेका थिए।

पहिरोले विस्थापित भएका सात परिवारमध्ये कोही आफन्तकोमा त कोही स्थानीय नवजागरण आमा समूहको भवनमा बस्दै आइरहेका छन्। पछिल्ला दिनमा वर्षा नभएकोले दुई/तीन परिवार पुन बस्तीमा नै फर्किएको भए पनि स्थायी रूपमा त्यहाँ बस्न नहुने अवस्था छ। लेदोले मूल घडेरीको खेतीयोग्य जमिन समेत पुरेको छ।