बैतडी : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहलपहल बढेको छ। भदौ ७ गते गौरा नमनाएका ठाउँहरूमा अहिले गौरा पर्वको रौनक बढेको हो।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व सुरू भएको छ।

गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। ब्रतालु महिलाहरूले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ। साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिहरूको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई आज नजिकका धारा,तलाउमा लगेर धुने चलन रही आएको छ। बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको दोगडाकेदार ३ श्रीकोटकी फुनडी विष्टले बताए। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरू पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ।

तागाधारी पुरुषहरूले जनौ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ।

यो वर्ष अगस्ती उदयका बिषयमा ज्योतिषहरूबीच विवाद भएपछि दुई गौरा भएका छन्। अगस्ती उदयको दोष लाग्ने भन्दै कतिपय ठाउँमा भदौ ७ गते श्रावण शुक्ल पक्षमा नै गौरा मनाइसकिएको छ। तर गौरा भाद्र कृष्ण वा शुक्ल पक्षमा मात्रै पर्ने मत राख्दै आएका ज्योतिषहरूको तर्क र स्थानीय परम्परा अनुसार गौरा एकादशी र जनैपूर्णिमा पछि मात्रै गौरा मनाउनुपर्ने भन्दै कतिपय ठाउँमा हिजोदेखि मात्रै गौरा पर्व सुरू भएको छ।​ गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत लगायत देउडा समेत खेलेर रमाइलो गर्ने गरिन्छ।