पर्वत : मेला महोत्सवको आयोजना गर्दा होस वा नेवार समुदायको विशेष कला प्रदर्शनीमा नै किन नहोस् ‘लाखे नाच’ पनि नेवार समुदायको एउटा पहिचान हो भन्दा फरक पर्दैन। विगतमा बाक्लै गरी देख्न पाइने नेवार समुदायको आकर्षक ‘लाखे नाच’ हेर्नको लागि आजभोलि विशेष पर्व वा लाखे नाचको समय नै कुर्नुपर्ने भएको छ।

नेपालका मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य, गीत, सङ्गीत लगायतका चलन हराउँदै जान थालेको बेलामा पनि नेवार समुदायले अहिलेसम्म पनि ‘लाखे नाच’ को रक्षा भने गरिरहेको छ। सोमबार दिउसो सदरमुकाम कुश्मा बजारमा नाचको सुरु गरेपछि साँझसम्म लाखेसँगै नाच्दै हिँड्नेहरूको सङ्ख्या बढेको देखिन्थ्यो। भूत भनी व्याख्या गरेकै स्वरूपमा देखा पर्ने लाखेको नजिकै पुगेका बालबालिकाहरू ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले पनि दौडिएर उनीहरूलाई जिस्क्याइरहेका थिए।

धुमधामका साथ नागको पूजा सम्पन्न गरेपछि कुश्माका नेवार समुदायले बजार परिक्रम गर्दै ‘लाखे नाच’ देखाए। नेपालका मौलिक नाचहरूमध्येको एउटा ‘लाखे नाच’ हरेक वर्ष प्रदर्शन गर्दै आएका उनीहरूले यस वर्ष पनि प्रदर्शन गर्न सुरु गरेका छन्। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्त्व नदिँदा हराउँदै जान थालेको छ। तर यसको संरक्षणको महत्त्व बुझेकाले कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूहले यसको संरक्षण गर्दै आइरहेको छ। कुश्मा नगरपालिका सहित जिल्लाको फलेवास नगरपालिका सहित अन्य स्थानीय तहमा बसोबास गर्दै आइरहेका नेवार समुदायले पनि नागको पूजा गरेपछि सोमबारदेखि नै लाखे नचाउन सुरु गरेका छन्।

नाग पञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुस्मा बजारमा ‘लाखे नाच’ देखाउन सुरु गरिएको समूहका अध्यक्ष रामु श्रेष्ठले बताए। ‘पहिले पहिले गाउँ गाउँमा पनि लाखे नाच देख्न पाइन्थ्यो। पछिल्लो समय सदरमुकाममा पनि लाखे देख्न मुस्किल छ, लोप हुन लागेको छ,’ उनले भने, ‘यसको संरक्षण गर्न हरेक वर्ष यसरी नै लाखे नाच गर्दै आएका छौँ, अरूले सहयोग गर्लान्, यसो भन्लान् भनेर होइन, हामी रहेसम्म लाखे हराउन दिन्नौँ।’

सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन्। स्थानीय राम श्रेष्ठका अनुसार नाग पञ्चमीको दिनदेखि सुरु भएको ‘लाखे नाच’ कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ। जनपूर्णिमासम्म ‘लाखे नाच’ तथा त्यसपछि रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने उनले बताए।

‘हामी हरेक दिन लाखे नचाउँछौँ। रोपाइँ जात्रामा रोपाइँ गर्दै, गाई जात्रा हास्यव्यङ्ग्यसहित गाई बनाउँदै, बाघ जात्रामा बाघहरूको नाच र लडाइँ देखाउँदै, हनुमान नाचमा हनुमान बनाएर हनुमानका व्यवहारहरू देखाउने गरिन्छ,’ उनले भने, ‘यी नाचहरूको संरक्षणका लागि अहिलेका युवा र केटाकेटीहरूलाई पनि लाखे बनाएर नचाउँदै, बाघ बनाएर लडाउँछौँ।’ नेवार समुदायको लाखे नाच अन्तर्गत भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच, एक्लो हनुमान नाच पर्छन्। यीमध्ये बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा छन्।

नेवार समुदायमा रहेको किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि ‘लाखे नाच’ को प्रचलन सुरु भएको थियो। लाखे भूतकै अवतारमा आएको देख्दा भूतले मानव जातिले आफूलाई समर्थन गरेको बुझ्दा मानिसलाई दुःख नदिने विश्वास रहेको श्रेष्ठ बताउँछन्। अर्कोतर्फ जेठ, असार र साउन महिनामा धान र कोदोको रोपाई तथा गोडमेलमा व्यस्त भएकाहरूले भदौमा आइपुग्दा काम सक्छन्। तर उनीहरूको थकान भने मेटिएको हुँदैन। यही कारण लाखे नाचको मनोरञ्जनबाट उनीहरूको थकान मेटाउनको लागि पनि यो नाचको महत्त्व रहेको उनको भनाइ छ।

कुश्मा बजारमा नेवाः सांस्कृतिक समूहले लाखे निकाल्ने गरेको भए पनि त्यसमा सबै जातजातिहरूको सहभागिता रहने गरेको छ। लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट नै हुने भए पनि यसको तयारीमा जुट्ने, आवश्यक सहयोग गर्ने लगायतका काममा जात भन्दा माथि उठेर कुश्माबासीहरुले सहयोग गर्दै आइरहेका छन्। गैर नेवार समुदायका व्यक्तिहरू पनि लाखे तथा लाखे नचाउने समूहको सहयोगी बन्ने वाद्यवादनमा सघाउने लगायतका कामहरू गर्दा ‘लाखे नाच’ संरक्षणमा अन्य समुदायको पनि सहभागिता रहेको यसले आफूहरूलाई प्रोत्साहित गर्ने गरेको नेवार समुदायका व्यक्तिहरू बताउँछन्।

‘लाखे नाच’ का अगुवा विष्णु नेवारका अनुसार यो नाचको इतिहास पर्वतमा करिब अढाई सय वर्ष पुरानो छ। भक्तपुरबाट बसाइँ सरेसँगै विभिन्न जिल्ला र गाउँ टोलसम्म पुग्दा आफ्नो संस्कार पनि सँगै ल्याएका थिए भन्ने उनीहरूको विश्वास छ। कुश्मा सरेका नेवार समुदायले पुरानो संस्कारहरूलाई निरन्तरता दिँदै ‘लाखे नाच’ सँग जोडिएका अरू धेरै नाचहरू भूते औँसीदेखि हरितालिका तीजसम्म प्रदर्शन गर्दै आएका छन्।

बजारमा हरेक दिन ‘लाखे नाच’ प्रदर्शन गर्दा खर्च हुने भएकोले कोष मार्फत लाखे नचाउने गरिएको छ। धेरै वर्षअघि स्थापना भएको कोषमा केही रकम रहेको छ भने र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ। उक्त कोषबाट ‘लाखे नाच’ मात्र होइन नेवार समुदायभित्रका कोही पनि व्यक्तिलाई अप्ठ्यारो परेको बेलामा आर्थिक सहयोग पनि गर्ने गरिएको छ।