चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकामा “रोजगारीका लागि सीप इन्स्योर परियोजना” अन्तर्गत समीक्षा तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

युवालाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने तथा स्थानीय स्तरमै अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको कुल बजेट ३६ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ।

कार्यक्रममा २० जना प्रशिक्षार्थीको सीप परीक्षण सम्पन्न गरिएको थियो भने विद्यार्थीलाई कामको संसारसँग परिचित गराउने लक्ष्यसहित नेपाल आदर्श माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र जनचेतना माध्यमिक विद्यालय लक्ष्मणपुरसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

परियोजनाअन्तर्गत २० जनालाई प्रोफेशनल कुक तथा २० जनालाई एकाउन्टेण्टसम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम लिएका धेरै सहभागीहरू हाल विभिन्न क्षेत्रमा रोजगारीमा आवद्ध भइसकेका छन्। हालसम्म ५३ जना विभिन्न उद्योग तथा व्यवसायमा संलग्न भएका छन् भने १३ जनाले उद्योगमै ओजेटी (On the Job Training) गरिरहेका छन्।

यसले सीपमूलक शिक्षाको प्रभावकारिता र युवामा बढ्दो आत्मनिर्भरता झल्काएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सञ्चालन  सहायक शिक्षा अधिकृतद्वारा गरिएको थियो भने सहजीकरण शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले गर्नुभएको थियो।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारु र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै शिक्षकहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नगर प्रमुख अजय थापाले कार्यक्रमको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी वर्ष पनि यस परियोजनासँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख शिवकुमारी थारुले सीपमूलक शिक्षा र उद्योगबीचको सहकार्यले दिगो रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले तालिम प्राप्त युवालाई रोजगारीसँग जोड्न प्रशासनिक सहयोग निरन्तर रहने बताउनुभयो।

कार्यक्रमले स्थानीय युवामा आत्मविश्वास वृद्धि गर्दै उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।