काठमाडौं ।
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल गर्न नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्ना सांसदहरुलाई बोलाएका छन्।

दुवै दलले सांसदहरुलाई छुट्टाछुट्टै दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

कांग्रेसका एक सांसदले बाह्रखरीसँग कुरा गर्दै भने हामीलाई दिउँसो तिर बोलाइएको छ। हस्ताक्षरको कुरा पनि छ ।उपसभामुखलाई हटाउने भन्ने हल्ला सुनेका हौँ, तर स्पष्ट भइसकेको छैन।

त्यसैगरी, एमालेका एक सांसदले आफूहरुलाई सिंहदरबार बोलाइएको बताए। उनका अनुसार खाली कागजमा हस्ताक्षर गरेर फर्कन भनिएको थियो। एमाले सांसदहरुलाई बिहान १० बजेदेखि नै दलको कार्यालयमा बोलाएर हस्ताक्षर गराइएको हो।

“हामीलाई खाली कागजमा हस्ताक्षर गराइएको छ। एक एमाले सांसदले भने प्रयोजन भने अहिलेसम्म भनिएको छैन। तर बेला–बेला यस्ता हस्ताक्षर गराइने गरेको छ।

प्राप्त जानकारी अनुसार, पहिले उपसभामुखलाई राजीनामा दिन आग्रह गर्ने नमाने महाभियोग दर्ता गर्ने तयारी भइरहेको छ। राना मगरले अमेरिकी भिसाका लागि लेटरप्याडमा निवेदन लेखी मानव तस्करी गरेको आरोप लागेको छ।

कांग्रेस सांसद रामहरि खतिवडाले हस्ताक्षर केका लागि गर्न भनिएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताए। उनले भने उपसभामुखविरुद्ध मानव तस्करीको आरोप लागेको हो। उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो। तर दिनुभएन। अब के हुन्छ भन्ने अहिले भन्न सकिँदैन।

यदि उपसभामुखले राजीनामा नदिए महाभियोग दर्ता गरेर हटाउने तयारी छ। तर त्यसका लागि संसद्मा दुई तिहाइ बहुमत आवश्यक पर्छ। २७२ सदस्यीय प्रतिनिधिसभामा महाभियोग पारित गर्न कम्तीमा १८४ मत आवश्यक हुन्छ।

हाल सरकारसँग त्यति मत छैन। सरकारसँग कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७ र लोसपाका ४ सांसद छन्। साथै, जनमत पार्टीले समर्थन गर्ने सम्भावना देखिएको छ। तर महाभियोगमा सहमत हुने–नहुनेबारे प्रष्टता आएको छैन।