नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न
कपिलवस्तु, चन्द्रौटा — नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक सोमबार शिवराज नगरपालिका–५, चन्द्रौटामा सम्पन्न भएको छ। बैठकले १४ वटा एजेन्डामा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।
बैठकले पार्टी केन्द्रीय समितिको अन्तरपार्टी निर्देशन र लुम्बिनी प्रदेश कमिटीको अध्ययनलाई आधार मानी निर्णयहरूको कार्यान्वयनमा प्रतिबद्धता जनायो। साथै, आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनका लागि तल्लो कमिटीहरूबाट सुझाव संकलन गरी भदौ १० गतेभित्र केन्द्रमा पठाउने निर्णय गरिएको छ।
जिल्ला सचिवालयलाई विस्तार गर्दै १४ जना नयाँ सदस्य मनोनयन गरिएको छ, जसमा पूर्व सचिवालय सदस्य तथा नगर कमिटी इन्चार्जहरूलाई प्राथमिकता दिइएको छ।
यस्तै, पार्टी स्कुल विभागको समन्वयमा भदौ १३ र १४ गते अगुवा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ। बैठकले पार्टी सदस्यताको नविकरण तथा प्रमाणीकरण प्रक्रिया पूर्ण गर्ने निर्णय गर्दै, बाँकी रहेका वडा कमिटी तथा जनवर्गीय संगठनहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
पार्टी कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने, अधिवेशनबाट निर्वाचित केही नेताहरूले पार्टी परित्याग गरेकाले औपचारिक रूपमा विदा दिने, साथै १० वटै पालिकाका अध्यक्षहरूमार्फत लिखित प्रतिवेदन संकलन गरिने जानकारी जिल्ला सचिव सि.बी. गहतराजले दिए।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक गंगाबहादुर जिसीले बैठकमा प्रस्तुत गरेका थिए। शिवराजमा अन्य दल परित्याग गरी प्रवेश गरेका नयाँ कार्यकर्तालाई स्वागत गर्दै शिवराज कमिटीलाई धन्यवाद समेत दिइएको छ।
बैठकले विविध विषयहरूमा आवश्यक निर्णय लिन जिल्ला सचिवालयलाई अधिकार प्रदान गरेको छ। साथै, विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूको स्वास्थ्यलाभको कामना र दुःखद अवस्थाहरूमा समवेदना प्रकट गरिएको छ।
बैठकमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य शुशिलकुमार श्रीवास्तव, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, निर्वाचन आयोग सदस्य झविलाल पोखरेल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, केन्द्रीय सल्लाहकार तथा प्रदेश सचिवालय सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकमा अधिकांश वक्ताहरूले ‘मिशन ८४’ अभियानलाई सफल पार्न सबै नेता तथा कार्यकर्ता एकताबद्ध भई सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए। बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टी गतिविधिहरूलाई समयसापेक्षरूपमा अघि बढाउने, सूचना, प्रविधि तथा सञ्चार माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने सुझावहरू पनि बैठकमा उठेका थिए।
बैठकको अध्यक्षता जिल्ला अध्यक्ष बाबुराम खनालले गरेका थिए भने सञ्चालन जिल्ला सचिव सि.बी. गहतराजले गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























