तनहुँ : तनहुँमा डेँगुबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ। असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेँगु संक्रमण हुनेको संख्या ५ हजार ११ पुगेको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरि डेँगु संक्रमित हुनेको संख्या ७ हजार ९४६ पुगेको छ। त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन्। निर्देशनालयका अनुसार तनहुँमा ५ हजार २४२, कास्कीमा १ हजार ५४४, गोरखामा ५७४, म्याग्दीमा ९२, मनाङमा ६, बागलुङमा १७६, नवलपुरमा ११०, स्याङ्जामा ५७, पर्वतमा ६, लमजुङमा १३९ जना संक्रमित भएका छन्।

डेँगुबाट प्रदेशभरिमा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँका ५ र स्याङ्जाका २ जना रहेका निर्देशनालयले जनाएको छ। तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेँगु संक्रमित रहेका जनाउँदै मृत्यु हुने ५ जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार व्यासमा मात्रै संक्रमित हुनेको संख्या ४ हजार ३०० भन्दा बढी छ।

आँबुखैरेनीमा ३९, ऋषिङमा १२९, घिरिङमा ८, देवघाटमा ७, बन्दीपुरमा ३२ र म्याग्दे गाउँपालिकामा ६७ जना तथा भानु नगरपालिकामा ७१, भिमादमा १२६, र शुक्लागण्डकीमा २२१ संक्रमित छन्। संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेको अधिकारीले जानकारी दिए।

सबैभन्दा बढी संक्रमित रहेको व्यास नगरपालिकाको वडा नं १ मा १ हजार २६, २ मा १ हजार १७५, ३ मा ५२७, ४ मा ६८०, ५ मा १९०, ६ मा ६३, ७ मा ५४, ८ मा १४, ९ मा ४१, १० मा १३८, ११ मा ११५, १२ मा ४७, १३ मा ६५ र १४ मा ३० जनामा संक्रमण भएको छ।

जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेँगुको परीक्षण गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ। डेँगु संक्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ।

डेँगु संक्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई ‘खोज र नष्ट’अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। उनले भने, ‘डेँगु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ। सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडि बढाइएको छ।’

अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ।

स्थानीय अस्पतालहरूको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुनसक्ने भएमा वा विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको उनले बताए।

‘एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो। यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्छ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेँगुका लक्षण हुन्,’ अधिकारीले भने।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेँगुबाट बच्न मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका उनले जानकारी दिए। -रासस