हरि अधिकारी, कपिलवस्तु ।
शिवराज नगरपालिकाले मेयर तथा उपमेयर उच्च शिक्षा कार्यक्रममार्फत पालिकाका विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरेको छ। पालिकाको प्राविधिक तथा साधारण धार अध्ययन सहयोग छात्रवृत्ति कार्यविधि, २०८१ अनुसार गएको वर्ष २६ जना अति विपन्न किशोरीलाई छात्रवृत्ति वितरण गरेेको छ ।

गत आर्थिक वर्षमा सूचना प्रकाशित गरी आवेदन संकलनपछि छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।  आर्थिक अभावका कारण पढ्ने सपना पुरा गर्न नसकेका किशोरीलाई लक्षित गरी यो कार्यक्रमले उच्च शिक्षाबाट बञ्चित हुन नदिन शैक्षिक सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो ।

सूचना अनुसार ८१ जना विद्यार्थीले फर्म भरेका थिए। तीमध्ये २६ जनालाई २०-२० हजारका दरले जम्मा रु. ५ लाख २० हजार अध्ययन सहयोग उपलब्ध गराइएको पौडेलले बताउनुभयो । सबै विद्यार्थी साधारण धार (स्नातक तह) तर्फ अध्ययनरत छन्।

कार्यविधिअनुसार प्राविधिक धार तर्फ अध्ययन गर्ने विद्यार्थीलाई भने ४० हजारसम्म सहयोग उपलब्ध गराइने व्यवस्था छ। विगतमा आर्थिक अभावका कारण १२ कक्षा पास गरेर पनि स्नातक तहमा पढ्न नसकेकी एक किशोरीको घटना नगरप्रमुख अजय थापाले संचारकर्मीहरूसँगको कुराकानीमा बताउनुभयो।

सोही घटनाले नगरपालिकामा उच्च शिक्षा छात्रवृत्ति कार्यविधि २०८१ लागू भएको हो। बालबालिकाको भविष्यबारे संवेदनशील रहँदै पालिकाले बालविवाह गर्ने अभिभावकलाई सचेत गराउँदै कारबाही गर्ने चेतावनीसमेत दिँदै छ ।

शिक्षा क्षेत्रमा सुधारका लागि पालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यान्वयनसँगै कक्षा ११ र १२ का विद्यार्थीलाई आर्थिक रूपमा सबल बनाउन “पढ्दै कमाउँदै” कार्यक्रम दुई विद्यालयमा सञ्चालन गरेको छ।

त्यस्तै, सिकाइ क्षति आपूरण तथा द्रुत सिकाइ योजना (Real Plan) सम्बन्धी शिक्षक तालिम, बहुभाषिक शिक्षा तालिम, सूचना प्रविधि तालिम, इसिडी बालशिक्षिकाको क्षमता विकास तालिमलगायतका गतिविधि सम्पन्न गरिएको शिक्षा शाखा प्रमुख बिश्वकर्माले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका ३७१ जना विपन्न विद्यार्थीलाई प्रतिव्यक्ति रु. ६,००० का दरले छात्रवृत्ति वितरण गरिएको छ। खेल क्षेत्रमा समेत मेयर तथा उपमेयर कपमार्फत ५५० जना खेलाडीलाई सहभागिता गराइएको छ।

वित्तीय प्रगतिमा पनि पालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संघीय ससर्त शैक्षिक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु. २९ करोड ७२ लाख १८ हजार बजेटमध्ये ९२ प्रतिशत खर्च भएको छ। त्यस्तै, पालिका स्तरीय शैक्षिक कार्यक्रमका लागि विनियोजित रु. ८ करोड ३५ लाखमध्ये ९२ प्रतिशत रकम खर्च भएको छ। भौतिक प्रगतिका दृष्टिले सबै कार्यक्रम १०० प्रतिशत कार्यान्वयनमा पुगेको पालिकाले जनाएको छ।