वीरगन्ज — पर्साको पर्सागढी नगरपालिका–३ बढनिहार निवासी ३९ वर्षीय बुद्धिराज पौडेललाई ३ दिनदेखि आइरहेको ज्वरो सिटामोल सेवनले निको नभएपछि गत वैशाख २२ मा गाउँकै एक निजी क्लिनिकमा जचाउँन गए । स्वास्थ्यकर्मीले रगत र पिसाब परीक्षण गरेपछि उनमा टाइफाइड देखियो ।
सुरुमा एन्टीब्योटिक सेवन गरेका पौडेलले छिमेककै तीनजनाले टाइफाइडको इन्जेक्सन लगाएको थाहा पाएपछि आफूले पनि लगाए । ‘टाइफाइड देखिएपछि स्वास्थ्यकर्मीले दिएको एन्टिबायोटिक खाँदै थिएँ,’ कान्तिपुरसँग फोनमा पौडेलले भने, ‘टाइफाइडको इन्जेक्शन लगाएका छिमेकीले कुनै साइड इफेक्ट नभएको बताएपछि मैले पनि लगाएँ ।’ पौडेलले श्रीमतीलाई पनि सुरुमा ज्वरो र त्यसपछि टाइफाइड भएको खुलाए । ‘आमा र छोरीलाई ज्वरो मात्र आएर निको भयो,’ उनले भने, ‘म र श्रीमतीलाई चाहि टाइफाइड भयो ।’
बढनिहारकै ४५ वर्षीय नन्दलाल चौधरीलाई पनि गत बिहीबार जीउ दुख्ने र ज्वरो आउने क्रम नरोकिएपछि गाउँको क्लिनिकमा गरिएको परीक्षणमा टाइफाइड पुष्टि भयो । एन्टिबायोटिक सेवन गरिरहेका उनले हाल स्वास्थ्य ठिक हुँदै गएको बताउँछन् । बढनिहारकै २८ वर्षीय ललिता यादवलाई गत शनिबार बिहान एक सय एक ज्वरो आयो । भोलिपल्ट क्लिनकमा चेक गराउँदा टाइफाइड देखियो । उनले भनिन्, ‘दुई दिन एन्टिबायोटिक खाएँ तर, अहिले जिब्रोको स्वाद समेत हराएको छ ।’
नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले कोरोना संक्रमित पनि टाइफाइडको औषधि सेवन गरी घरमै बस्ने र सिकिस्त भएपछि अन्तिम अवस्थामा अस्पताल पुग्दा मृत्युदर बढेको बताउँछन् । ‘सुरुमै कडा एन्टिबायोटिक सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास पुर्याउँछ,’ उनले भने, ‘त्यसरी झन भाइरसले च्याप्छ । यसरी काम चल्दैन ।’ अनावश्यक एन्टिबायोटिक नचलाउन उनले स्वास्थ्यकर्मीलाई सुझाव दिए ।
बढनिहार बजारमा सामान्य पूर्वाधार भएका आधा दर्जन निजी क्लिनिक तथा ल्याब सञ्चालनमा रहेका छन् । स्थानीय रामु शर्माका अनुसार ती ल्याबहरुमा दिनहुँ सयभन्दा बढीको रगत र पिसाब परीक्षण हुन्छ । ‘त्यसमध्ये करिब ९० प्रतिशतमा टाइफाइड पुष्टि हुन्छ,’ शर्मा भन्छन्, ‘ज्वरो पछि टाइफाइड देखिएकाहरु गाउँमा निर्धक्क डुलिरहेका छन्, टाइफाइड मात्र हो कि कोरोना संक्रमण पनि हो, त्यो परीक्षण हुन सकेको छैन ।’ बढनियारमा हालसम्म ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । शर्माका अनुसार अझै ५ जना सिकिस्त बिरामी भन्टिलेटरमा छन् ।
बढनिहार र आसपासका गाउँमा ज्वरो नआएको घरै छैन्,’ स्थानीय व्यापारी समेत रहेका बुद्धिराज पौडेल भन्छन्, ‘टाइफाइड पुष्टि भएकाहरु घरमा अलग्गै नबस्ने, गाउँभरि घुम्ने गरेकाले झन् त्रास बढेको छ ।’ गाउँलेलाई सुरुमा ज्वरो आउँदा २/३ दिनसम्म सिटामोल खान्छन्, निको नभएपछि गाउँकै क्लिनिकमा थप जाँच गराउँदा टाइफाइड पुष्टि हुने गरको छ । केहीले एन्टीब्योटिक र केहीले सात देखि १० दिनसम्म टाइफाइडको इन्जेक्शेन लिने गरेका छन् ।
पर्सागढी नगरपालिका– ६ बागेश्वरी स्थित स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा.चन्द्र भूषण सिंहका अनुसार बढनिहार मात्र नभई अहिले ग्रामीण भेगका हेरक गाउँमा ज्वरो र खोकीका बिरामी बढ्दै गएका छन् । ‘यसरी टाइफाइड फैलिदैन,’ डा.सिंह भन्छन्, ‘हामीले कोरोना नै मानेर बिरामीलाई औषधी सेवन गर्न सल्लाह दिइरहेका छौँ ।’
निजी क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोनाकै प्रोटोकल बमोजिम बिरामी भएको दिन पत्ता लगाएर औषधि दिन सुझाव दिएको उनले खुलाए । ‘दैनिक ७० देखि एक सयजना बिरामीले फोन गरेर ज्वरो र खोकीको समस्या सुनाउँछन्,’ डा.सिंहले भने, ‘ग्रामीण क्षेत्रमा ज्वरो र खोकीको प्रकोप छ ।’ केही दिनमै वीरगन्जका वरिष्ठ चिकित्सक र गाउँमा कार्यरत स्वास्थ्यकर्मीबीच छलफल गराइ ज्वरो र खोकी लागेका बिरामीलाई कोरोनाको प्रोटोकल बमोजिम औषधि दिने योजना बनाएको उनले बताए ।
नगरपालिका स्वास्थ्य संयोजक उमेश प्रसाद साहका अनुसार निजी क्लिनिक सञ्चालन गरिरहेका स्वास्थ्यकर्मीलाई कोरोनाको प्रोटोकल बमोजिम नै औषधि दिन निर्देशन दिइने बताए । ‘बुधबार हामीले वीरगन्जमा नगरवासीका लागि कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याउँदै छौँ,’ उनले भने, ‘त्यसपछि हामी स्वास्थ्यकर्मीहरुलाई भेला गरेर निर्देशन दिन्छौँ ।’ सिकिस्त बिरामीलाई वीरगन्जको अस्थायी अस्पताल र सामान्यलाई स्वास्थ्य चौकीको निगरानीमा होम आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए ।